पोल खुल्ने भएपछि मोदीबारे बीबीसीले बनाएको वृत्तचित्र ब्लक गर्न भारत सरकारको आदेश



भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले बनाएको वृत्तचित्रलाई यूट्यूब र ट्वीटरमा ब्लक गर्न आदेश दिएको छ ।

बीबीसीले भारतमा वृत्तचित्र प्रसारण नगरेको भए पनि केही यूट्यूब च्यानलमा भिडियो अपलोड गरेपछि भारत सरकारले ब्लक गर्न निर्देशन दिएको हो ।

साथै, मन्त्रालयले भिडिओको लिंक शेयर गर्ने झण्डै ५० वटा ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको बीबीसी हिन्दीले जनाएको छ । मन्त्रालयका सचिव अपूर्व चन्द्रले आइटी नियम २०२१ अन्तर्गत आदेश दिनुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा बनाइएको बीबीसीको वृत्तचित्र भारतमा अरु माध्ययमबाट प्रसारणमा पनि भारत सरकारले रोक लगाएको छ ।

वृत्तचित्रले सन् २००२ मा गुजरात भएको दगामा प्रधानमन्त्री मोदीको नेतृत्वमा प्रश्न उठाएको छ । वृत्तचित्रको कुनैपनि क्लिप सामाजिक सञ्जालमा समेत सेयर गर्न प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

मोदी पश्चिमी राज्य गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँ साम्प्रदायिक दंगा भएको थियो । दंगामा सरकारी गणनाअनुसार एक हजारभन्दा बढी व्यक्तिको ज्यान गएको थियो । ज्यान गुमाउने धेरैजसो मुस्लिम थिए ।

हिन्दू तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ५९ जनाको ज्यान गएपछि हिंसा भड्किएको थियो ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार