सांसद कोइरीलाई पक्राउ गर्न सबै जिप्रकालाई केन्द्रको ‘सर्कुलर’



काठमाडौं । हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ । पक्राउ गर्न चौतर्फी दबाब बढेपछि उनलाई पक्राउ गर्न सर्कुलर जारी गरेको हो । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको बताए । भने, “गृहमन्त्रीले निर्देशन दिनेबित्तिकै पनि सर्कुलर जारी जरिसकेका थियौँ । दुई÷तिन दिन पहिले फेरि गरेका हौँ ।”

यसअघि, गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नटेरेको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत हुने गरेको छ । प्रहरीले उनको खोजीकार्य जारी रहेको जनाएको छ ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या गरेको अभियोग कोइरीमाथि छ । कोइरीले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतसमेत दिएका थिए । नेकपा (एमाले)का तर्फबाट महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका थिए ।

उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि एक लाख धरौटीमा रिहा गरेको थियो । तर, पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो । उच्च अदालतको आदेशपछि भने प्रहरीले उनलाई पक्राउ पर्न सकेका छैन ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार