ओलीप्रति मेटमणिको कटाक्ष– मेरो सेवा सुविधा काटेर कोचिङ क्लास दिइयोस्



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले प्रतिनिधिसभा विघटन गरेको कुरालाई सत्य सावित गर्न झुटको खेती गरिरहेको बताएका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा उनले नेकपा (एमाले)का नेताहरूप्रति लक्षित गर्दै २०४७ र २०७२ को संविधानको मर्म र भावना नबुझ्नेलाई कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने बताए ।

“सम्भवतः प्रतिनिधिसभामा कोचिङ क्लासका लागि बजेटको व्यवस्था छैन होला । यदि, व्यवस्था छैन भने मैले प्राप्त गर्ने सेवा सुविधा काटेर जो जो यो डेफिनेसन, तर्क, लजिक, बेठिक कुतर्क गरिरहेको छ, त्यस्ता व्यक्तिलाई कक्षामा राखेर राम्रोसँग पढाउनका लागि म अनुरोध गर्न चाहन्छु,” उनले भने ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि संसद् विघटन गर्न कुरेर बसेको आरोप लगाए । उनले ओलीको नाम नलिई संविधान च्यात्न ढुकेर बसेकोे भन्दै संविधान च्यातिन सक्ने बताए ।

उनले सांसद मुक्ताकुमारी यादव उपसभामुखका लागि योग्य भएको बताए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सर्वाधिक मत पाएकाले उनको लोकप्रियता प्रष्ट हुने उनले जिकिर गरे । शून्य सहनशीलताको कुरा गर्दै करौँडो भष्टाचार भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार