पासबिना चलेका ८ सय सवारी नियन्त्रणमा, काठमाडौंबाहिर जान खोज्ने ३०० जना होल्डमा



काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने आठ सय १४ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई लकडाउन कडा गर्न निर्देशन दिएको थियो। निर्देशनसँगै ट्राफिक प्रहरीले उपत्यकामा कडाईका साथ चेकिङ थालेको हो। मंगलबार साढे ११ बजेसम्म ८ सय १४ सवारीसाधनलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए। ‘अरू दिन भन्दा अलि बढी नै छन् आज,’ उनले भने,’हामीले कडाइका साथ चेकिङ गर्दैछौं।’

८१४ मध्ये दुई पाङ्ग्रे सवारीसाधन ७२१ छन् भने ९३ चार पाङ्ग्रे सवारीसाधन छन् । मंगलबारदेखि १० दिनका लागि लकडाउन लम्बिएसँगै काठमाडौंबाहिर जान खोज्नेको संख्या पनि बढेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यका बाहिर जान खोज्ने करिब तीन सय जनालाई होल्डमा राखेको छ। त्यस्तै अनावश्यक रूपमा हिँडडुल गर्ने ११ सय जनालाई समेत नियन्त्रणमा लिएको छ।

‘उपत्यका बाहिर जान खोज्ने तीन सय जतिलाई होल्डमा राखेका छौं,’ परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने,’अनावश्यक रूपमा हिँड्ने ११ सय जना तीन घन्टा होल्डमा राख्छौं।’
प्रहरीले उपत्यका बाहिर जान खोज्नेहरूलाई आफ्नै कोठामा जान अनुरोध गरिरहेको उनले बताए। ‘उपत्यका बाहिर जान चाहनेलाई हामीले सम्झाउन खोजिरहेका छौं,’ उनले भने,’खान नपुगेको भए त्यसको व्यवस्था गरिदिने भनेका छौं।’

प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार