पाँचौँ बागमती गोल्डकप पुस २४ गतेदेखि, विजेतालाई ८ लाख नगद र ट्रफी



हेटौंडा । मोफसलको सबैभन्दा ठूलो राशिको पुरस्कार रहेको बागमती गोल्डकप आगामी साताबाट मकवानपुरमा सुरू हुने भएको छ। मकवानपुरको बागमती गाउँपालिकामा पाँचौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताको पाँचौँ संस्करण पुस २४ गतेदेखि माघ ३ गतेसम्म मकवानपुरको जनता माविको खेल मैदान फापरबारीमा आयोजना हुने भएको हो। बागमती गाउँपालिका खेलकुद विकास समितिले शनिवार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको जानकारी गराएको हो।

प्रतियोगिता संयोजक टीकलाल श्रेष्ठले बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने जानकारी दिए। प्रतियोगिताका बिजेताले नगद ८ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, द्वितीय हुनेले नगद ४ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक श्रेष्ठले जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०/१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए।

प्रतियोगिताको लागत करिब ७१ लाख हुने अनुमान आयोजकले गरेको छ। बागमती गाउँपालिकाबाट ३५ लाख प्राप्त हुने तथा अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरुबाट सहयोगको लागि अनुरोध भइरहेको बताइएको छ।

प्रतियोगितामा एक विदेशी, ७ वटा ए डिभिजन क्लब र २ वटा मोफसलको क्लबको सहभागिता रहने छ। प्रतियोगितामा आयोजक बागमती क्लबसहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर हेटौंडा ११, जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताको २०७८ को चौथो संस्करण अफ्रिकन स्टेट्स एशोसिएसन क्यामरुनलाई हराउँदै थ्रीस्टार क्लवले जितेको थियो। गत बिजेता टोली पाँचौँ सस्करणमा सहभागी नहुने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार