रवीना देशराजले सार्वजनिक गरिन् प्रेमीको तस्बिर



रवीना देशराज श्रेष्ठले इन्स्टाग्राममार्फत् आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्। सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी हुन्। उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्।

रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन्।रवीनाले बिहीबार इन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन। मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु। यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।’

उनले तस्बिरमा भएका आफ्ना प्रेमीका बारेमा थप भनेकी छन्, ‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ। उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ। म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु…।’

रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर ‘आइ लभ यु’ पनि भनेकी छन्। उनको पोस्टमा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले पनि ‘आइ लभ यु टू’ लेखेका छन्।

आफ्ना प्रेमीलाई चिनाउन पाउन खुसी लागेको भन्दै रवीनाले सबैले आफूलाई शुभकामना दिनुहुनेछ भन्ने आशा रहेको पनि बताएकी छन्।

उनको पोस्टमा उनका छोराहरू आशीरमान र आयुष्मान, बुहारी प्रियंका, बैंकर अनिल केशरी शाह, कलाकार परिमिता राणा लगायतले मायाको इमोजी राख्दै कमेन्ट गरेका छन् भने अरू धेरैले शुभकामना दिएका छन्।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार