काठमाडौँ, १६ वैशाख । लकडाउनले काठमाडौंको बसाइ कठिन भएको भन्दै गाउँ जानेको लर्को लागेका बेला प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशका सर्वसाधारण कोरोनाबाट सुरक्षित ठानेर उपत्यकामा आउन थालेका छन् । काठमाडौं प्रवेश गर्ने नाकाबाट सोमबार बिहानसम्म निर्बाध रूपमा आए । सञ्चारमाध्यमले निगरानी गर्न थालेपछि भने प्रहरीले बाहिरबाट आउने यात्रुको विवरण टिप्न थालेको छ ।
एक सातायता उपत्यकामा अलपत्र सर्वसाधारण लिन भन्दै आउने बसहरूले बाहिरबाट समेत यात्रु ल्याइरहेका हुन् । कहिले कुन समय कति बस भित्रिए भन्ने विवरण प्रहरीसँग छ, तर कसले कहाँ बस्ने यात्रु उपत्यका भित्र्याए भन्ने छैन । आइतबार साँझसम्म प्रहरीले काठमाडौं प्रवेश गर्ने बसको नम्बर र यात्रु संख्यामात्रै राख्ने गरेको थियो । सोमबार बिहानदेखि मात्रै नाम, ठेगाना, मोबाइल नम्बर टिप्न थालेको छ ।
काठमाडौंको नागढुंगा, फर्पिङ, भक्तपुरको जगाती नाका हुँदै आउने यात्रुबाहक सवारीले बाहिरबाट यात्रु ल्याउने गरेको पाइएको हो । सोमबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म नागढुंगा नाकामा कान्तिपुर संवादादाता रहँदा प्रदेश १, २ र सुदूरपश्चिमबाट आउने बसमा यात्रु ल्याउने गरेको प्रत्यक्ष देखियो । प्रहरी स्रोतका अनुसार सोमबार बिहान ६ देखि ११ बजेसम्म मात्रै ५५ वटा बस काठमाडौं भित्रिए । ‘यसमध्ये आधाभन्दा बढी प्रदेश १ को काँकडभिट्टा र विराटनगरका आएका बस छन,’ नाकामा खटिएका एक प्रहरीले भने, ‘यसमा रित्तो आउने बस कमै छन् ।’ कोभिड–१९ संक्रमित धेरै पाइएको प्रदेशबाट काठमाडौं आउने यात्रुको संख्या बढिरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बाहिरिने मजदुर बढी छन् भने काठमाडौं आउनेहरूमा घर भएका र आफन्त यतै भएकाहरू छन् । नागढुंगा प्रहरीले बाहिरबाट आउने यात्रुलाई उपत्यका भित्रिनुको कारणसमेत सोधेको थियो । काठमाडौंमा घर र कोठामा आएको भन्ने कारण टिपाएका छन् । याे खबर कान्तिपुर दैनिकमा छ ।