
हेटौंडा : हेटौंडा स्थायी राजधानी भएपछि बागमती प्रदेश सरकारले मन्त्रालय र मन्त्री आवास निर्माणका लागि जग्गा खोज्न थालेको छ। दुई वर्षअघि नै प्रदेश मन्त्रालयहरू स्थापना भए पनि अस्थायी राजधानी भएकाले तत्कालीन क्षेत्रीय र जिल्ला तहका सरकारी कार्यालयका भवनमा राखिएको छ। स्थायी राजधानी भएपछि भने आफ्नै भवन र निवास निर्माणमा सरकार जुटेको हो। ‘हामीले मन्त्रालय र मन्त्री आवासका लागि जग्गा खोजीकार्य गरिरहेका छौं,’ भौतिक पूर्वाधार मन्त्रालयसमेत सम्हालिरहेका मुख्यमन्त्री डोरमणि पौडेलले भने, ‘स्थायी राजधानी भएपछि अब हामी एकै ठाउँमा सबै मन्त्रालय राख्ने र मन्त्री निवास पनि एकै ठाउँमा राख्न पुग्ने जग्गाको खोजीमा छौं।’ यस वर्ष जग्गा खोजी, भवनको डिजाइन र अन्य प्रक्रिया पूरा गरि अर्को वर्ष निर्माण थाल्ने उनले बताए।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मन्त्रालय र मन्त्री निवास बनाउन सकिने सम्भावित ठाउँबारे प्रदेश सरकारलाई जानकारी गराएको बताए। उनका अनुसार हेटौंडा–९ स्थित लामसुरस्थित हेटौंडा सिमेन्ट उद्योगको ५४ बिघा र हेटौंडा–५ मा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रको २७ बिघाबारे जानकारी गराइएको छ। ‘जग्गाको समस्या छैन, हामीले अन्यत्र पनि उपयुक्त ठाउँ हेरिहेका छौं,’ उनले भने, ‘प्रदेश सरकारले भनेको र आवश्यक ठानेको अवस्थामा हामीले सक्ने सहयोग गरिरहेका छौं।’ प्रदेश सरकारलाई मन्त्रालय, आवास, प्रदेशसभा भवन निर्माणका लागि २५ बिघाभन्दा बढी जग्गा आवश्यक रहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। ‘मन्त्रालयका भवन कस्ता र कुन ठाउँमा बनाउने भन्ने टुंगो लाग्दैछ, हामीसँग बजेटको समस्या छैन,’ मन्त्रालयका सचिव तेजराज भट्टले भने, ‘बजार आसपासमै हामी मन्त्रालय र मन्त्री निवास बनाउँछौं।’