
काठमाडौं, १३ बैशाख । चलचित्र तिर्खाबाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका जीवन लुइँटेल नेपालका बहुचर्चित अभिनेताका रुपमा परिचित छन् । कुनै समयमा उनी नेपालको नम्बर १ अभिनेताकोरुपमा पनि लिन थालिएको थियो । उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन । उनले २०१० मा ‘नसिब आफ्नो’ चलचित्रबाट केटिभी बेष्ट डेबुडेन्ट अवार्ड र २०१३ मा नेशनल फिल्म अवार्डमा चलचित्र ‘मालतीको भट्टी’बाट बेष्ट एक्टर अवार्ड समेत हात पारेका लुइँटेल हाल अमेरिकामा छन । लामो समयदेखि मिडिया र समाजिक सञ्जालबाट टाढा रहेका नायक लुइँटेल यति बेला आफ्नो फेस्बुक लाइभ मार्फत सबैलाई सुरक्षित रहन आग्रह गरेका छन ।
उनले आफ्नो फेसबुक लाइभ मार्फत आग्रह गर्दै भनेका छन्, ‘संसारको विज्ञानले हारेको यो अवस्थामा यति बेला संसार नै ठप्प भएको छ । यो परिस्थितिमा सबै एकजुट भएर यसको सामना गर्नुपर्छ । बिश्वभर छरिएर रहेका नेपालीहरु सबै स्वस्थ्य तरिकाले बस्न र यो कोरोनाको महामारीबाट बाँच्नको लागि सबैभन्दा पहिले आफू सुरक्षित भएर आफ्नो जीवन बचाउन आवश्यक छ ।’ जुन ठाँउमा भए पनि ठाउँ अनुसारको लकडाउनको नियमको पालना गरेर आफ्नो सुरक्षा गर्न पनि उनको आग्रह छ । लकडाउनमा परेका कारण सबैको स्थिति अप्ठ्यारोमा परेको र दैनिक काम गर्नेको जीवन प्रभावित भएर रोजोरोटीमा समस्या पर्ने हुँदा सबैले आफूले सक्ने सहयोग गरेर सबैको चुलोमा आगो बालिदिन पनि उनको आग्रह छ ।
यो महामारीको बेला फिल्डमा खटिएका सम्पूर्णलाई आफ्नो नमन एवं सम्मान रहेको र सम्पूर्णले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको होला भन्ने आशा राखेको पनि उनले बताए । आफू पनि नेपालम भएको भए केही गर्ने थिए भन्दै तर अमेरिका भएको कारण केही गर्न नपाएको पनि उनको भनाइ छ । यस्तो बेलामा सबैलाई सकारात्मक सोच राख्न पनि उनले आफ्नो फेसबुक लाइभ मार्फत आग्रह गरेका छन् ।