सर्वसाधारणका लागि बाराही हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?



सर्वसाधारणका लागि बाराही हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन?

बाराही हाइड्रोपावरले सर्वसाधारणहरूको लागि आज (बुधबार) देखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा २ लाख ५० हजार कित्ता आइपिओ वितरण गरेको थियो। सो समयमा बिक्री हुन नसकेको १ लाख ४ हजार कित्ता सेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गरेको हो।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको कम्पनीले बताएको छ।

यो बाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि वितरण गर्न लागेको हो। यो सेयर छिटोमा मंसिर २६ गतेसम्म बिक्रीमा रहनेछ। उक्त अवधिमा सम्पूर्ण सेयर बिक्री नभएमा भने पुस ६ गतेसम्म बिक्री लम्बिनेछ।

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस रेटिङ प्रदान गरेको छ।यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा बढी जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर २१ गते बुधवार