
कतार बिश्वकपको स्टडियममा देखा पर्ने यी नेपाली अनुहार को हुन ?
दोहा, कतार : मध्यपूर्वको खाडी राष्ट्र कतारमा अहिले फिफाको २२ औं संस्करणको विश्वकप चलिरहेको छ िनोभेम्बर २०, २०२२ बाट शुरु भएको खेल अहिले नकआउट चरणमा रहेको छ ।
कतारमा विभिन्न स्थानमा हरेक वर्ग, तह र तप्काका नागरिकले फुटबल हेरुन् भनेर ‘फ्यान जोन’को निर्माण गरिएको छ ।
कतार सरकारले होस् या फिफाले कसैलाई पनि मनोरञ्जन, सुरक्षा तथा खेल हेर्नबाट वञ्चित नगर्न कुनै कसर बाँकी राखेका छैनन् । हय्या कार्ड नहुने श्रमिकका लागि पनि ‘फ्यान जोन’ निर्माण गर्नु आयोजकको तारिफ योग्य कार्य हो ।
इस्लामिक देश भएर पनि विश्व सामु आफूलाई परिमार्जित रुपमा देखाउँदै कतारले मादक पदार्थको व्यवस्था समेत गरेको छ । निश्चित दायरामा रहेर आफूले चाहेको मादक पदार्थ सेवन गर्न सकिन्छ ।
पहिलो पटक खाडीमा आयोजना गरिएको यस प्रतियोगितालाई केही पश्चिमा राष्ट्रका मिडियाले नकारात्मक रुपमा प्रचार गरे पनि कतारले हरेक कोणबाट ऐतिहासिक विश्वकप बनाउन कुनै सम्झौता गरेको छैन ।
सुरक्षाको विषयमा अति चासो दिएको कतारले आफ्ना नागरिक, पाहुना तथा आप्रवासी कामदारको सुरक्षाका लागि हजारौं स्वयंसेवक र सुरक्षाकर्मी भर्ती तथा परिचालन गरेको छ । विश्वकपलाई सफल बनाउन थुप्रै नेपाली युवतीहरु पनि भोलेण्टियरका रुपमा खटिएका छन् ।
उनीहरुलाई स्थलगत रुपमा फेला पारेपछि मध्यान्ह दैनिकले आधा दर्जन नेपाली युवतीलाई तपाईंले स्वयंसेवकको रुपमा फिफाको भोलेण्टियर भएर सेवा गर्न पाउँदा कस्तो महसुस गर्नु भएको छ ? कुन क्षेत्रमा कसरी कार्यसम्पादन गरिरहनु भएको छ भनेर प्रश्न गरेका थियो । आउनुहोस् हेरौं तिनै सहासी युवतीहरुको जवाफ उनीहरुकै शब्दमा :
सन्ध्या अर्याल (नवलपरासी)

कतारमा चालू २२ औं विश्वकपमा मैले पनि स्वयंसेवकको रुपमा काम गर्ने सौभाग्य पाउँदा गौरवान्वित महसुस गरेकी छु । विभिन्न देशबाट ४ लाख २० हजार जनाको आवेदन परेकोमा २० हजार जनाको लिस्टमा मेरो नाम पर्नुलाई निकै ठुलो भाग्यको रुपमा लिएकी छु । कर्मभूमि प्रतिको हाम्रो प्रेम र दायित्व देखाउने हामी सबै नेपालीहरुको लागि यो सुनौलो अवसर पनि हो । कतारबाट हामीले धेरै कुराहरु पाएका छौं ।
धेरै भन्दा धेरै रेमिट्यान्स भित्र्याउने राष्ट्रको रुपमा चिनिएको कतारले लगभग चार लाख नेपालीहरुलाई उनीहरुको योग्यता र दक्षता अनुसारको रोजगार प्रदान गरेको छ िजसले करोडौँ नेपालीहरुको घरमा चुल्हो बल्नुको साथै बालबच्चाका भविष्य पनि उज्ज्वल बनाएको छ । त्यसैले विश्वकप जस्तो खेलको महाकुम्भको अवसरमा मैले पनि ‘स्पेक्टेटर सर्भिस भोलेण्टियर’को रुपमा काम गरिरहेकी छु । स्टेडियम प्रवेशका लागि अनिवार्यरुपमा चाहिने हय्या कार्ड र टिकटको चेक जाँच, आगन्तुकहरुले जान्न खोजेका स्टेडियम र खेलसम्बन्धी आवश्यक जानकारी दिने, प्रतिबन्धित सामग्रीहरुको जानकारी दिने, आवश्यक पर्नेहरुका लागि ह्विलचियर प्रदान गर्ने र आवश्यक परेमा उनीहरुको सिटसम्म छोडेर आउने, दर्शकहरुलाई उनीहरुको प्रवेश गर्ने गेट र सिटबारे जानकारी दिनेलगायतका अन्य थुप्रै कुराहरुमा सहयोग गर्दै आइरहेकी छु । सेवा गर्ने अवसर प्रदान गरेकोमा कतार सरकार र फिफा प्रति कृतज्ञ ज्ञापन गर्न चहान्छु ।
माया केसी (स्याङ्जा)

मध्यपूर्वको इतिहासमा पहिलो पटक र एसियाको इतिहासमा दोस्रो पटक आयोजित पुरुष विश्वकप फुटबल खेल प्रतियोगिता अहिले कतारमा भइरहेको छ । विश्वकप हेर्नकै लागि महँगो टिकट काटेर टाढा टाढाको देशमा पुग्छन् फ्यानहरु, जसरी अहिले विभिन्न देशबाट कतार आएका छन् । यस अर्थमा हामी भाग्यमानी हौं कि यो पटक आफ्नै आँखा अगाडि विश्वकप चलिरहेको छ ।
त्यो भन्दा पनि विशेष चाहिँ विश्वकप जस्तो प्रतिष्ठित खेलमा स्वयंसेवकको भूमिकामा समेत सहभागी हुन पाएका छौं । विश्वका २०९ देशबाट चार लाख २० हजारले आवेदन दिएकोमा ५८ हजार जनाको अन्तर्वार्ता पछि २० हजार जनाको टिममा चुनिनु मेरो लागि सामान्य कुरा होइन । मेरो भूमिका चाहिँ फ्यान जोनमा छ । कर्निसको ए, बि, सी र डी सेक्सन एरिया मध्य डी सेक्सन एरियामा मेरो कार्यक्षेत्र परेको छ । सेक्सन डी एरियामा कलाकारहरुले प्रस्तुति दिनको लागि स्टेज बनाइएको छ । कलाकारले प्रस्तुति दिने समयमा कलाकार र स्टेज एरियालाई सुरक्षा दिनु मेरो जिम्मेवारी हो । कतारमा कार्यरत नेपाली समुदायबाट लगभग चार सयको हाराहारीमा हामीले यो पटकको विश्वकपमा स्वयंसेवकको रुपमा काम गरिरहेका छौं ।
सृजना श्रेष्ठ (गोरखा)

विगत लामो समयदेखि नेपालका साथ साथै कतारमा स्वास्थ्य सेवामा आवद्ध भई काम गर्दै आइरहेको छु । नेपालमा हुँदा पनि प्रायजसो सबै खाले स्वास्थ्य शिविरमा सहभागी हुने गरेकी थिएँ । कतारमा हुने फिफा विश्वकपमा मैले पनि भोलेण्टियरको आवेदन दिएपछि विभिन्न चरण पार गर्दै अग्र स्थानमा कार्य सम्हाल्ने जिम्मेवारी पाएँ । जिम्मेवारीले थप काम गर्ने हौसला मिल्यो र आफूलाई अझै धेरै भाग्यमानी ठानें ।
करिब १ वर्ष अगाडि भएको अरब कपमा सहभागी हुँदा थोरै नेपाली महिला भेटेकी थिएँ, तर अहिले लगभग चार सयको हाराहारीमा नेपाली भोलेण्टियर रहेका छौं । तर नेपाली युवती भने कम नै छौं । यति ठुलो प्रतियोगितामा स्वयंसेवकका रुपमा काम गर्न पाउनु ठुलो अहोभाग्य हो । भोलेण्टियरको रुपमा काम गरेपछि नेपाली राजदूतावास गएर महामहिम राजदूतलाई समेत भेटेर नेपाली भोलेण्टियरहरुको बारेमा जानकारी दिने अवसर पनि मिल्यो ।
कविता खत्री (रामेछाप)

२२ औं संस्करणको फिफा विश्वकप कतारमा चलिरहँदा मैले पनि स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छु । यो हामीहरुका लागि सुवर्ण अवसर पनि हो र गर्व महसुस गरिरहेको छु िमैले हय्या कार्ड वितरण केन्द्रमा स्वयंसेवकका रुपमा कार्य गरिरहेकी छु ।
रंगशाला प्रवेशका लागि हय्या कार्ड अनिवार्य चाहिने हुनाले त्यहाँ विभिन्न देशका नागरिकहरु कार्ड लिनको लागि आउँछन् र हामीले उहाँहरुलाई सहजीकरणका लागि आवश्यक एप्लिकेसन चेक गर्ने र काउन्टरसम्म जानका लागि लाइन व्यवस्थापन गर्ने, टोकन वितरण गर्ने र कार्ड लिइसकेको व्यक्तिबाट सेवाको प्रतिक्रिया लिने काम गर्छौं । स्वयंसेवकको काम नै सेवा गर्ने भएको भएर ६ घण्टा त्यहाँ बसेर सेवा गर्न पाउँदा र नेपाली नागरिक हुँ भनेर चिनाउँदाको खुसी बेग्लै लाग्छ ।
संगीता जिसी खत्री क्षेत्री (ललितपुर)

कतारमा जारी फिफा विश्वकपमा स्वयंसेवकको रुपमा यातायात क्षेत्रमा सेवा गरिरहेकी छु । त्यति धेरै कार्य यो क्षेत्रमा नहुने हुँदा सेवाका लागि मैले अन्य विभिन्न क्षेत्रमा विशेष रुपमा आयोजना हुने कार्यक्रममा आफ्नो स्थानबाट सहयोग गरिरहेकी छु िखासगरी खेलको ओपनिङ समयमा झण्डा फहराउने जिम्मेवारीमा रहेर कार्य गरें । हामी करिब ४०० जना नेपाली स्वयंसेवकका रुपमा सक्रिय भएर सेवा गरिरहेका छौं ।तिलु शर्मा पौडेल/मध्यान्ह