छोराछोरी अस्ट्रेलियामा पढ्दै छन्, कति पैसा कमाइस् हैन के गर्दैछस् भनेर सोध्नुस्!



छोराछोरी अस्ट्रेलियामा पढ्दै छन्, कति पैसा कमाइस् हैन के गर्दैछस् भनेर सोध्नुस्!

पछिल्लो दुई हप्तामा अस्ट्रेलियामा तीन नेपाली विद्यार्थी र दुई अभिभावकको निधन भएपछि नेपाली समाज दुखित मात्र हैन चिन्तित पनि देखिएको छ।

यसरी सुन्दर भविष्यको कल्पना गरेर उच्च अध्ययनको लागि अस्ट्रेलिया आएका विद्यार्थीहरू कालगतिले नभई मानसिक तनाव र आवेगमा आएर ज्यान गुमाउने घटना यसरी वृद्धि हुनु आफैंमा गम्भीर र सोचनीय विषय बनेको छ।

गत सोमबार एक २० वर्षीया नेपाली युवतीले सिड्नीको ह्यारिस पार्कस्थित ट्रेन स्टेसनमा आफ्नो ज्यान फालिन् भने केही दिनअघि मात्र ब्रिजबेनको सनसाइन कोष्टमा एक युवा आफ्नै कोठामा मृत भेटिए। पछिल्लो हप्ता त्यस्तै म्याग्दीका युवाले सिड्नी आइपुगेका तीन महिनामै १२ औं तलाबाट हाम्फालेर मृत्यु अंगाले। यसरी मृत्यु हुने केहीको शव व्यवस्थापन यतै गरिएको छ भने कतिको नेपाल लैजाने तयारी समेत भैरहेको छ।

यतिमात्र होइन घुम्न आएका दुई अभिभावकले पनि हर्ट एट्याकका कारण ज्यान गुमाएका छन्। तीमध्ये एक जना सिड्नी र अर्का क्वीन्सल्यान्ड राज्यमा आएका थिए।पढाइ, काम र गाँसको जोहो अनि परिवारदेखि टाढा भएकाले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा मानसिक तनाव समेत बढ्ने गरेको एक सर्वेक्षणले देखाएको छ।

यसरी एकपछि अर्को दुखद् समाचार आउँदै गर्दा अस्ट्रेलियन नेपाली समाज निकै दुखित र चिन्तित भएको एनएसडब्लु राज्यका महावाणिज्यदूत दीपक खड्का बताउँछन्। ‘जीवन गुम्नु र गुमाउनु आफैंमा सबैभन्दा ठूलो पीडादायक विषय हो, यसले उज्वल भविष्यको कामना गरेर बसेका अभिभावकमा कस्तो बज्रपात पर्दो हो, यसको कल्पना गर्न समेत कठिन हुन्छ। मुख्य कुरो नेपालबाट अस्ट्रेलिया आउँदै गर्दा यहाँको वस्तुस्थितिसँंग अभ्यस्त हुने र परिवारको सम्पर्कमा रहिरहने जरूरी देखिएको छ। अभिभावकले पनि आफ्ना छोराछोरी विदेशमा रहँंदा नियमित सम्पर्कमा रहने र पढाइ र बसाइँका बारेमा खुलस्त रूपमा छलफल गर्नुपर्ने टडकारो आवश्यकता देखिएको छ’, उनले भने।

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल यस्ता खाले घटनाक्रमले सबैलाई चिन्तित तुल्याएको बताउँदै नेपालबाट उच्च अध्ययनमा आउनुअघि अभिभावक र विद्यार्थीलाई राखेर यहाँको वास्तविकता र अवस्थाका बारेमा जानकारी गराउन सके यसले केही हदसम्म यस्ता दुर्घटना रोक्न सक्ने बताउँछन्। यसका लागि विद्यार्थीलाई उच्च अध्ययनको प्रक्रिया अगाडि बढाउने शैक्षिक परामर्शदाता र सरकारी निकायबीच समन्वयकारी भूमिका गरेर यसलाई अगाडि बढाउनुपर्ने राजदूत पोखरेल बताउँछन्।

तर पछिल्ला केही दुखद् घटनाक्रमले केही फरक र अलग तरिकाबाट सोच्न बाध्य बनाएको बताउँछन् एनआरएन अस्ट्रेलियका पूर्व महासचिव ज्ञानेन्द्र रेग्मी।फरक/फरक परिदृष्य र दुर्घटनाले उच्च अध्ययनमा आउने विद्यार्थीहरू यहाँको वास्तविकतासँंग परिचित नभएको र केही आवेगपूर्ण निर्णयका कारण भएको देखिन्छन्।

समय र पढाइ अनि खानपिन र बसाइको उचित व्यवस्थापन गर्न नसक्दा मानसिक तनावमा परेका र केही कुलतको शिकार भएका कारण पनि यस्ता खाले दुर्घटना बढेको रेग्मीको भनाइ थियो। निकै राम्रो अंक ल्याएर पास भएका विद्यार्थी यता आएर पढाइभन्दा बढी काम र दाममा कुद्न थालेपछि पनि समस्याको घेरामा परेको देखिन्छन्। सानै उमेरमा पढाइभन्दा कामै काम र मनग्गे दाम अनि खानपिनमा ध्यान नदिनुले पनि विद्यार्थीहरू शारीरिक रूपमा कमजोर देखिएको कैंयन् उदाहरण छन्।

‘नेपालमा अभिभावकले पैसाभन्दा पनि छोराछोरीले के पढ्दै छन्, के गर्दैछन् भन्ने बारेमा जान्न आवश्यकता देखिएको छ’, रेग्मीले भने।एनआरएन एनएसडब्लुका सचिव विनोद कुँवर मेहनत गर्नेका लागि सफलताका सयौ बाटा र बिग्रनेका लागि अनेकन पाटा रहेकोले विद्यार्थी जीवनमा काम र दाम अनि मामको सही संयोजन गर्न नसक्नेहरू समस्यामा पर्ने बताउँछन्।

‘विद्यार्थी जीवन सजिलो छैन, महंगो फी, कामको जोहो र उठाइ बसाइ माया मोहलाई जसले संयोजन गर्न सक्यो त्यसले सजिलै सबै कुराको पार लाउँछ। तर त्यसैमा अल्झेर, अनेकन बहानामा बल्झेर तनावमा बेरिनेहरू समस्यामा परेका देखिन्छन्’, सचिव कुँवर आफ्ना अनुभव सुनाउँदै भन्छन्।

विदेशमा उच्च शिक्षाका लागि आएका नेपाली युवाहरूको यस्ता खालका दुखद् खबर मुलुकका लागि भने साँच्चिकै पीडादायक र सोचनीय विषय पनि हो। बर्सेनि विदेशमा पढेर जीवनलाई उजिल्याउने रहर बोकेका युवाहरू यसरी विविध दुर्घटनाको शिकार बन्दै गर्दा यसको उपचार पनि सम्बन्धित निकायले खोज्नु पर्दछ। गगनचुम्बी भवन र समुन्द्री किनारमा लोभिएर पहेंलो डलर कमाउने रहरमा यसरी जीवन खेर फाल्ने क्रम रोकिनु पर्दछ।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार