
कोरियालाई हराउने क्रममा ब्राजिलले राख्यो फिफा विश्वकप २०२२ मा नयाँ रेकर्ड
काठमाडौं, २० मंसिर
दक्षिण कोरियालाई ४–१ अन्तरले पराजित गर्दै ब्राजिल कतार फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति स्टेडियम ९७४ मा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेयमार, रिचार्लिसन र लुकास पाक्वेटाले एक एक गाल गरे । कोरियाको लागि सुङ हो पाइकले एक गोल गरे ।
अब, सेमिफाइनल प्रवेशकालागि ब्राजिलले क्रोएसियाको सामना गर्नेछ । यो संगै फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ ।
सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो ।
प्रशिक्षक टिटेले टिममा भएका सबै खेलाडी अवसर दिने क्रममा खेलको ८०औं मिनेटमा पहिलो रोजाइका गोलकिपर एलिसन बेकरको स्थानमा वेभर्टनलाई मैदान पठाएका थिए ।
समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एक पटक मैदान उत्रिसकेका छन् ।