लेलेको जलकुमारी-बालकुमारी मन्दिरमा चोरी



ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ। बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए।

उनका अनुसार मध्यराति १:२२ बजे दुई जना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सिसिटिभी फुटेजमा पनि देखिएको छ। बिहान करिब ६ बजेतिर मन्दिरका पुजारी पूजा गर्न जाँदा ढोकाको ताला फोडिएको अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको वडाध्यक्ष मिलन सिलवालले जानकारी दिए।

अहिले घटनास्थलमा परिसरबाट डिएसपी दीपक भारतीको नेतृत्वमा टोली खटिएको छ। प्रहरी वृत्त चापागाउँ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि टोली खटिएको प्रहरीले बताएको छ।

उक्त मन्दिरमा यसअघि पनि चोरी भइसकेको एसपी शाहीले बताए। अहिले चोरी भएका देवताका आकृतिहरू नयाँ स्थापना गरिएको हुँदा धेरै पुरानो नभएको उनले बताए।

अहिले प्रहरीले चोरको पहिचान गर्नमा लागेको उनले बताए। ‘सिसिटिभीमा दुई जना चोर पसेको देखिन्छ। उनीहरूको पहिचानतर्फ अगाडि बढेका छौं,’ उनले भने, ‘अहिले अनुसन्धान गर्न टिम घटनास्थलमा छ।’

चोरी भएका आकृतिहरू २००-३०० ग्रामका र चार-पाँच इन्च लम्बाइ र चौडाइ भएका छन्। उक्त आकृति तामाबाट बनेका हुन्।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार