३५ दिनभित्र खोला किनारका बस्ती खाली गर्न उपत्यका विकास प्राधिकरणको सूचना



काठमाडाैं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचना निकालेको छ ।

प्राधिकरणले सार्वजनिक सूचना निकालेर काठमाडाैं उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको छ । तोकिएको मितिमा नहटाएमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने र त्यसरी हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने उल्लेख छ ।

उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तार मार्फत व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि काठमाडाैं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ मा आधारभूत मापदण्ड तय गरिएको छ ।

सोमबार काठमाडाैंको थापाथली सुकुम्वासी बस्तीमा काठमाडाैं महानगर तथा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संरचना हटाउन खोजेपछि तनाव भएको थियो । महानगरको नगरप्रहरी र डोजरले बस्ती हटाउन खोजेपछि सुकुम्वासीले घरेलु हतियारसहित ढुङ्गामुढा समेत गरेका थिए ।

यसअघि बागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती सुकुम्वासी बस्ती हटाउन कात्तिक २४ गते सूचना निकालेको थियो । तोकिएको समय १० दिनभित्र स्थानीयले अवैध संरचना नहटाएपछि महानगर प्रहरी डोजरसहित सुकुम्वासी बस्तीमा पुगेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १४ गते बुधवार