भैरहवा विमानस्थलबाट किन बन्द भयो दुई सहरको उडान?



भैरहवा विमानस्थलबाट किन बन्द भयो दुई सहरको उडान?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाअघि कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान संख्या घटायो। सातामा सातै उडान सुरू गरेको जजिराले यात्रु नपाएपछि एक महिनामै उडान संख्या घटाएर सातामा तीन पुर्‍यायो।

कुवेतको जजिराले मात्र होइन, आन्तरिक उडान भरिरहेका वायुसेवा कम्पनीले पनि भैरहवाबाट विभिन्न गन्तव्यमा उडान बन्द गरेका छन्। आन्तरिकतर्फ यात्रु संख्या नपाएको भन्दै बुद्ध र सौर्य एयरलाइन्सले केही महिनादेखि उडान बन्द गरेको विमानस्थलले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार सौर्य एयरलाइन्सले भैरहवा-विराटनगर र बुद्ध एयरलाइन्सले भैरहवा-भरतपुर गन्तव्यको उडान केही महिनादेखि बन्द गरेका हुन्।

भैरहवाबाट विराटनगरमा दैनिक उडान गरिरहेको सौर्य एयरलाइन्सले सात महिनादेखि उडान बन्द गरेको महाप्रबन्धक दाहालले सेतोपाटीलाई बताए।

‘यो गन्तव्यमा सौर्यले झन्डै एक महिना उडान गर्‍यो, त्यसपछि बन्द भयो,’ उनले भने।

सौर्य एयरलाइन्सले भने यात्रु अभाव भन्दा पनि आन्तरिक कारणले उक्त गन्तव्यमा उडान बन्द गरेको बताएको छ। भैरहवा-विराटनगर गन्तव्यमा करिब दुई महिना नियमित उडान गरेपछि जहाज अभावका कारण उडान बन्द गरेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए।

‘भैरहवा-विराटनगर दैनिक एक उडान हुन्थ्यो,’ उनले भने, ‘अकुपेन्सी राम्रै थियो। विमान अभावका कारण हामीले उक्त गन्तव्यको उडान रोकेका हौं।’

भैरहवाबाट भरतपुर उडान गरिरहेको बुद्ध एयरले पनि करिब एक महिनादेखि उडान बन्द गरेको विमानस्थलले जनाएको छ।

विमानस्थलका कर्मचारीहरू भने यात्रु नभएकै कारण एयरलाइन्सहरूले भैरहवाबाट अन्य सहरमा उडान रोकेको बताउँछन्।

‘जहाँ यात्रु संख्या बढी छ, त्यहीँ एयरलाइन्सको चाप हुन्छ,’ विमानस्थलका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘सौर्य र बुद्धले पनि यहाँबाट यात्रु नपाएकै कारण उडान बन्द गरेका हुन्।’

दुवै गन्तव्यमा उडान बन्द भएपछि आन्तरिक ‘कनेक्टिभिटी’ का लागि विमानस्थलले एयरलाइन्सलाई पत्र पठाएको महाप्रबन्धक दाहाल बताउँछन्।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि धनगढी–महेन्द्रनगरदेखि पूर्वको झापासम्मका यात्रु आउजाउ बढेको छ।

‘त्यसकाण पनि भैरहवालाई विभिन्न सहर जोड्न कनेक्टिङ फ्लाइट गर्नुपर्ने देखिन्छ,’ दाहालले भने।

अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सको संख्या बढ्दै गएकाले भैरहवाबाट अन्य आन्तरिक सहरहरूमा पनि सिधा उडान आवश्यक रहेको उनको भनाइ छ। उनका अनुसार भैरहवाबाट विराटनगर, जनकपुर, सुर्खेत, धनगढी, दाङ, जुम्ला लगायत विमानस्थलमा हवाइ कनेक्टिभिटी बढाउन सकिन्छ।

‘यी सहरबाट पनि उडान गरे यात्रुलाई आउजाउ गर्न सहज हुन्छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि कनेक्टिङ फ्लाइट आवश्यक छ,’ उनले भने।

हाल बुद्धले भैरहवा-पोखरा र भैरहवा-काठमाडौं भने नियमित उडान गरिरहेको उनले बताए।

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन जोड गरिरहेको छ। नियमित अन्तर्राष्ट्रिय उडान, चार्टर्ड उडानदेखि यो विमानस्थलमार्फत अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्ने यात्रुलाई आन्तरिक हवाइ यात्रामा छुटसम्मको व्यवस्था गरेको छ।

नागरिक उड्डयन प्राधिकरणले विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्दा यात्रुले २५ प्रतिशतसम्म छुट पाउने गरी वायुसेवा कम्पनीहरूसँग सहमति गरिसकेको छ। यसका लागि आन्तरिक उडान भरिरहेका बुद्ध, यती र श्री एयरलाइन्सले पनि सहमति जनाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘अब भैरहवाबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुलाई सो विमानस्थलबाट आन्तरिक हवाइ यात्रा गर्दा अन्तर्राष्ट्रिय बोर्डिङ पासको आधारमा सहुलियत पाउने छन्,’ सूचना अधिकारी भुलले भने, ‘यसका लागि सम्बन्धित एयरलाइन्सहरू तयार भएका छन्।’

विमानस्थलमा हाल दुइटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन्। कुवेतको जजिरा एयरवेजले कुवेत-भैरहवा-कुवेत सातामा तीन उडान गरिरहेको छ। हिमालय एयरलाइन्सले भैरहवा-मलेसिया-भैरहवा दैनिक चार्टर्ड उडान गरिरहेको छ। हिमालयले भैरहवाबाट दैनिक १३० भन्दा बढी यात्रु बोकिरहेको जनाएको छ।

यस्तै नेपाल वायुसेवा निगमले दिल्ली-भैरहवा उडानको तयारी गरिरहेको छ। नेपाल एयरलाइन्सले सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी सातामा चार उडानका लागि अनुमति मागेको छ।

नेपाल एयरलाइन्सले उडान सुरू गरेपछि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या तीन पुग्नेछ। साथै आगामी डिसेम्बरबाट अन्तर्राष्ट्रिय वायुसेवा पनि भैरहवामा उडान गर्दै छन्।

अन्तर्राष्ट्रिय उडान बढ्दै जाँदा यात्रु आवतजावतका लागि पनि कनेक्टिङ फ्लाइट आवश्यक छ। यसका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सहकार्य भइहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार हवाइ कनेक्टिभिटी बढाउन आन्तरिक वायुसेवासँग छलफल भइरहेको छ।

‘तत्कालका लागि यात्रु अकुपेन्सी नभएकै कारण भइरहेको उडान पनि रोकिएको हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान बढ्दै गएपछि बिस्तारै भैरहवाबाटै अन्य सहरहरूमा नियमित उडान हुन्छ। यसका लागि वायुसेवाहरू तयार छन्।’

हाल बुद्ध, यती, श्री, सौर्य र गुण एयरलाइन्सले भैरहवाबाट काठमाडौं र पोखरा गन्तव्य बनाएर उडान गरिरहेका छन्। विमानस्थलबाट दैनिक १८ देखि २५ वटा उडान भइरहेको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार