कोरियान भाषा परीक्षाको आवेदन मिति तोकियो



कोरियान भाषा परीक्षाको आवेदन मिति तोकियो

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो ।

ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ ।

एक दिनमा चार सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । यस्तै भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको पहिलो चरणको सीप परीक्षण फागुन ३ देखि ५ गतेसम्म हुनेछ भने दोस्रो चरणको सीप परीक्षण चैत १ देखि ३ गतेसम्म हुने ईपीएस शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार