प्रदर्शन गर्न खुकुरी ल्याउनेलाई नियन्त्रणमा लिन्छौं: महानगर प्रहरी



काठमाडौंको बागमती किनारमा रहेको सुकुम्बासी टोलीलाई हटाउन जाँदा खुकुरी ल्याउने व्यक्तिलाई महानगर प्रहरीलेे नियन्त्रणमा लिने भएको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी वस्तीमा खुकुरी लगायत हतियार ल्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिने बताएका हुन् ।

‘हामी अब पछि हट्न हुन्न। राज्यको मुटुमा पर्ने राजधानी जस्तो ठाउँमा खुकुरी लिएर कोही बस्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ,’ उनले पत्रकारहरूसँगको कुराकानीमा भनेका छन्। सोमबार सुकुम्बासी बस्ती हटाउन गएको महानगरको टोलीमाथि स्थानीयले हातहतियारसहित ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको थियो।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो। समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घर-टहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन भनेको थियो ।

स्थानीयले वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरूले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन्। यो क्षेत्र तानवग्रस्त बन्दा ३५ जना घाइते समेत बनेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार