गृहमन्त्री खाँणकै गृहजिल्ला रुपन्देहीमा बढारियो कांग्रेस



बुटवल । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा नेपाली कांग्रेस क्लीनस्वीप बनेको छ । कांग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण नै रुपन्देही ३बाट पराजित भएपछि प्रतिनिधी सभा तर्फ रुपन्देहीका पाँचैवटा क्षेत्रमा कांग्रेस शुन्य बन्न पुगेको हो ।

०७४मा बाम गठबन्धनको एकल सामाना गर्दा दुई स्थानमा जित निकालेको कांग्रेसले पाँच दलिय गठबन्धन गर्दा भने जित निकालेका क्षेत्र समेत बचाउँन सकेन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता हुन् , बालकृष्ण खाँण । नेपाल सरकारका बाहालवाला गृहमन्त्री खाँण अहिलेको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३बाट पराजित भएका छन् ।

राप्रपा एमाले जसपा गठबन्धनको साझा उम्मेदवार रहेका पञ्चायतकाल देखिका पुराना राजनीतिक खेलाडी राप्रपाका उपाध्यक्ष दिपक बोहोरा संग पाँच दलिय गठबन्धनको सहयोगमा उम्मेदवार बनेका खाँण पराजित हुन पुगेका हुन् । बोहराले ३६ हजार ७ सय १७ मत पाउँदा कांग्रेसका खाँणले ३४ हजार ३६ मत मात्रै ल्याए ।

त्यसो त , खाँणलाई स्थानिय तहमा पार्टीहरुको मतभारलाई मुल्याङ्कन गर्दा खाँण भन्दा बोहोरालाई निर्वाचन निकै सहज थियो । मतपरिणाम अनुसार सत्तागठबन्धन सँग ४० हजार १ सय ८५ मत थियो भने राप्रपा सहितको एमाले गठबन्धनको ४८ हजार ६ सय २८ मत थियो । यस हिसाबले सत्ता गठबन्धनका खाँण भन्दा तीन दलीय गठबन्धनका बोहरा ८ हजार ४ सय ४३ मतले अगाडि थिए ।

यो ठुलो मतान्तरलाई परिपुर्ति गर्दै जित निकाल्ने रणनीतिमा रहेका खाँण अन्ततः २हजार ६ सय ८१ मतले पराजित भएका हुन् । रुपन्देही ३बाट निर्वाचनमा होमिएका खाँण मात्रै होईन ०७४मा ठुलो मतान्तरले विजय बनेका रुपन्देही क्षेत्र नम्बर ४मा प्रमोद यादव र क्षेत्र नम्बर ५मा भरत शाहा पनि पराजित हुन पुगेका छन् । पाँच निर्वाचन क्षेत्र मध्य ३ क्षेत्रमा मात्रै उम्मेदवार उठाएको कांग्रेस तिन ओटैमा पराजित भयो भने गठबन्धनका अन्य दुई क्षेत्र उम्मेदवारहरु पनि पराजित भएका छन् ।

कांग्रेसले १० वटा प्रदेश सभा मध्य दुई स्थानमा मात्रै जित निकालेको छ । पुर्व खानेपानी राज्य मन्त्री अब्दुल रज्जाक रुपन्देही १(ख) र लुम्बिनी प्रदेशका शिक्षा,युवा तथा खेलकुद मन्त्री वसीउद्दिन खाँन रुपन्देही ४(ख)मा विजय भएका हुन् । कांग्रेस प्रतिनिधी सभामा शुन्य र प्रदेशमा दुई स्थानमा मात्रै जित निकाल्दा स्थानिय तहको निर्वाचनमा भने १६ मध्य १० पालिकामा जित निकालेको थियो ।

एक्लै प्रतिस्प्रर्धा गर्दा समेत जित निकाल्न सक्ने रुपन्देही १ र २मा उम्मेदवार नहुँनु , गठबन्धनका नाममा आफ्नै कार्यकर्ताले टिकट नपाउँनु , महाधिवेसनका समयमा भएको गुटबन्धी , पुरानै अनुहारलाईनै उम्मेदवार बनाउँनु आदि कारणले रुपन्देहीमा कांग्रेस कमजोर बन्न पुगेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार