नोकरले बनाएको ‘मटन’ औधी मनपरेपछि २२ वर्षीया सुन्दरीले गरिन् ५५ वर्षीय नोकरसँग विवाह



काठमाडौं । भन्छन्, मुटुको बाटो पेट हुँदै जान्छ । तर यो कुरा एक भनाईमा सिमित नभएर वास्तविक बनेको छ ।

पाकिस्तानका एक व्यक्तिले स्वादिष्ट मटन (खसीको मासु) बनाएर युवतीलाई यसरी प्रभावित गरे कि कुरा बिहेसम्म पुग्यो । अहिले यो जोडीको प्रेमकथा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनीहरुको कुनै चलचित्रको दृश्य भन्दा कम छैन । पहिले झगडा, त्यसपछि प्रेम भयो ।

तपाईं यसलाई एकतर्फी प्रेमका रुपमा पनि लिन सक्नुहुन्छ । युवतीलाई आफ्नो माया जालमा पार्नका लागि ती पुरुषले नोकरको रुपमा काम गर्न थाले । अनि खसीको मासु खुवाएर आफ्नो माया जालमा पारेर बिहेसम्म गर्न भ्याएका हुन् । यो कहानी २२ वर्षीया आलिया र ५५ वर्षीय रफिकको हो । यो जोडीको प्रेम कहानी पाकिस्तानी युट्युबर सैयद बासित अलीले आफ्नो च्यानलमा सेयर गरेका छन् । दुबैले पहिलो पटक एक अर्कालाई रिक्सामा भेटेका थिए ।

तर त्यहाँ केही गडबड हुँदा आलियाले रफिकलाई एक थप्पड हानेकी थिइन् । प्रेमकथा सुनाउँदै रफिकले भने, ‘हामी दुबैजना रिक्सामा भेट्यौं । रिक्सामा अर्को केटा थियो, जसले आलियालाई हेरिरहेको थियो ।

मैले त्यो केटाको प्रतिकार गरें, हामीबीच झगडा भयो र मैले उसलाई धेरै पिटें । त्यसपछि मैले आलियालाई देखेँ, उनी रिसाएकी थिइन् । मलाई धन्यवाद दिनुको सट्टा आलियाले मलाई थप्पड हानिन् ।’ पहिलो भेटको बारेमा कुरा गर्दै आलियाले भनिन्, ‘रफिकले मलाई रिक्सामा सवार अरू केटाभन्दा बढी हेरिरहेको थियो, त्यसैले मैले उसलाई थप्पड हानें ।

तर त्यतिबेला उनी यति दयालु छन् भन्ने थाहा थिएन ।’ अब आउँछ कथाको रोचक भाग । आलिया रिक्साबाट ओर्लिएपछि रफिकले उनलाई पछ्याउँदै घरसम्म पुगेका थिए । त्यसपछि उनी फर्किए अनि भोलिपल्ट फेरि आलियाको घर पुग्न भ्याए । रफिक आएपछि आलियाले ढोका खोलिन्, रफिकसँग रिसाउन थालिन् ।

रफिक केही नबोली फर्किए । यो क्रम तीन दिनसम्म चल्यो । त्यसपछि चौथो दिन रफिकले आलियालाई घरमा कुनै काम छ कि भनेर सोधेका रहेछन् । आलियाले दु:खी हुँदै रफिकलाई खाना पकाउने काम दिइन् । रफिकले आलियाको घरमा प्रवेशपछिको कथा पनि सुनाएका छन् ।

उनले भने, ‘मैले राम्ररी पकाउँछु र घरका अन्य सबै काम पनि गर्छु भनेँ ।’ आलियाको अनुरोधमा रफिकले पहिलो दिन हांडीको मटन बनाए । आलियालाई रफिकको हातको खाना यति मन पर्यो कि उनी रफिकको मायामा पागल भइन् । आलियाले भनिन्, ‘जुन प्रकारको खाना पकाएर यसले मलाई खुवाउँछ यस्तो खाना अरुले पकाउन सक्दैन् । यदि यो टाढा गयो भने, म कसम खान्छु म धेरै दु:खी हुनेछु ।’ रफिक–आलियाको आफ्नै व्यवसाय चलिरहेको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार