हिमालयले भैरहवाबाट मलेसियामा चार्टर उडान गर्ने



हिमालयले भैरहवाबाट मलेसियामा चार्टर उडान गर्ने

हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)बाट यात्रुवाहक चार्टर उडान गर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) आक्रामक भएपछि हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरमा ‘चार्टर’ उडान गर्न लागेको हो । एयरलाइन्सले १७ कात्तिकदेखि २४ कात्तिकसम्म दैनिक एउटा चार्टर उडानको अनुमति मागेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । ‘बुधबार नै हिमालयको प्रस्ताव स्वीकृत गर्छौँ,’ उनले भने ।

हिमालयले काठमाडौं–क्वालालम्पुर–भैरहवा र भैरहवा–क्वालालम्पुर–काठमाडौं उडान गर्न अनुमति मागेको छ । हिमालयले भैरहवाबाट उडान थाले पनि जहाज पार्किङ गर्न भने काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आउनेछ । क्यानले काठमाडौंमा दैनिक तीनवटाभन्दा बढी उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवालाई विन्टर सेड्युलमा कम्तीमा एउटा उडान भैरहवाबाट गर्न निर्देशन दिएको थियो । पहिलो चरणमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई पत्राचार गरेर १३ कात्तिकदेखि उडान गर्न निर्देशन दिएको हो । तर, दुवै एयरलाइन्सले निर्देशन नमानेपछि क्यानले उडान नै कटौती गरिदियो । सोही कारण हिमालयले भैरहवाबाट उडान गर्न लागेको हो ।

काठमाडौंमा दैनिक तीनभन्दा बढी उडान गर्ने अन्य वायुसेवाले पनि १६ डिसेम्बरदेखि भैरहवाबाट कम्तीमा एउटा उडान गर्नुपर्ने क्यानका सूचना अधिकारी भुलले बताए । निगमले सोमबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पनि एक साताभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने तालिका पेस गर्ने प्रतिबद्धता जनाएको छ ।२ जेठदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै सेवा दिँदै आएको छ ।

सरकारले अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र उडान गर्ने गरी विभिन्न मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । त्यसैले, तत्कालै नयाँ विमानस्थलबाट नियमित तालिकाअनुसार उडान गर्न कठिनाइ छ । त्यसैले हिमालयले सुरुमा चार्टर उडान गर्न लागेको भुलले बताए । ‘सुरुमा चार्टर उडान गर्छ, त्यसपछि टेम्प्रोररी अपरेटिङ पर्मिट दिन सकिन्छ,’ उनले भने, ‘नियमित उडानतालिका दिन गन्तव्य देशसँग हवाई सेवा सम्झौता रिभ्यु गर्नुपर्छ ।’ तर, युनाइटेड अरब इमिरेट्स (युएई) अन्तर्गतका देश र भारतीय गन्तव्यमा भने अहिलेकै हवाई सेवा सम्झौताअनुसार नियमित तालिकामा उडान गर्न मिल्ने उनको भनाइ छ ।

हिमालयको ह्यांगरसहित टेक्निकल टिम काठमाडौंमै भएको हुँदा भैरहवाबाट उडान गरे पनि जहाज काठमाडौंमा पार्किङ गर्न आउने भएको हो । ती सेवाहरू भैरहवामा उपलब्ध गराउन समय लाग्ने हुन्छ । ह्यांगरलगायत पूर्वाधारहरू खडा गरेपछि हिमालयले भैरहवालाई बेस बनाएर अन्तर्राष्ट्रिय उडान गर्न सक्नेछ । नियामक निकाय क्यानले हिमालयलाई भैरहवा बेस बनाएर उडान गर्न भनिरहेको छ । चिनियाँ र नेपाली व्यवसायीको लगानी रहेको हिमालयसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा न्यारोबडी जहाज रहेका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार