
पढाउने काम छाडेर फूलखेती थालेका ६२ वर्षीय दीपक, यो तिहारमा मात्रै बेचे ७ लाखको सयपत्री
भरतपुर– तिहार पर्वमा चितवनका एउटै किसानले ७ लाख रुपैयाँको सयपत्री फूल बेचेका छन्। भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा ७ लाखको फूल बेचेका हुन्।
गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष ४ बिघामा फूल रोपेका थिए। सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ। ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्याउन सकिएन भनेर अहिले ४ बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो,’ पाख्रिनले भने।
यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनी बताउँछन्। तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए। फूल बिक्रीबाट ७ लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए।
‘मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो,’ उनले भने, ‘केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ।’ उहाँले अझै ४/५ लाखको फूल बारीमा नै रहेको बताए। ‘मङसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ,’ उनले भने। उनले रु १२ लाखको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई ७ लाखसम्म बचत हुने बताए।
डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उनले तोरी लगाइसकेका छन्। ‘यसपटक राम्रो व्यापार भयो, २०८० सालको दशैंमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु,’ उनले भने, ‘वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ।’ उनले २६ वर्षअघिसम्म काठमाडौंमा पढाउने काम गरेका थिए। ‘काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरेँ। त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो,’ पाख्रिनले सुनाए।
६२ वर्षीय पाख्रिनले फूलेखेती थालेको १८ वर्षको दौरानमा देशभर १०० भन्दा बढी ‘शिष्य’ बनाइसकेका छन्। आफ्ना शिष्यहरु पनि अहिले व्यावसायिकरूपमा फूलखेती गरिरहेका पाख्रिनले सुनाए। रासस