अपूर्वले रुँदै भने, अब मैले समुदाय छोड्नुपर्ने कि मर्दिनुपर्ने ?



काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहले आफूलाई काठमाडौंमा बस्न पनि डर लागेको बताएका छन्।बिहीबार धरौटीमा रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले आफूलाई काठमाडौंमा बस्न पनि डर लागेको बताएका हुन्।

उनले भने, ‘मलाई काठमाडौंमा बस्न पनि डर लाग्छ, तर म बस्छु।’ कमेडियन सिंहले आफूले माफी मागिसकेको र भिडियो हटाइसकेको अवस्थामा अब गर्नुपर्ने के हो भनेर प्रश्न सोधेका छन्।

‘रिसाउनुभएकाहरूको लागि मैले के गर्नुपर्छ, मैले अझै पनि बुझिराको छैन,’ उनले थपे, ‘मैले माफी माग्नुपर्ने माफी मागेँ, भिडियो हटाउनुपर्नेथियो हटाएँ, अब यो कुरालाई बढाएर कहाँसम्म लैजाने?, म मर्दिनुपर्ने हो कि? मैले समुदाय छोडेर यो कुराको अन्त्य हुने हो कि? के चाहिएको नै बुझ्न सकिराको छैन।’

सार्वजनिक शान्ति विरुद्ध र जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूर र सामाजिक रितिस्थितिमा खलल सम्बन्धी कसूरमा मुद्दा दर्ता भएका उनलाई काठमाडाैं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले बिहीबारको थुनछेक बहसपछि साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएकाे थियाे।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि पक्राउ गरि अनुसन्धान गरिएको थियो।

लामो प्रक्रियापछि धरौटीमा छुटेका अपूर्वको मुहारमा भने हाँसो गायब थियो । इजलास बाहिरको एउटा कुनामा बसेका उनका आँखामा आँसु थियो भने बोलीमा कम्पन ।आफ्नो कमेडीलाई गलत बुझिएकामा र भिडियो डिलिट गरेर माफीसमेत मागिसकेको अवस्थामा राज्यले गरेको क्रुर व्यवहारका कारण उनको मन कुँडिएको छ । भन्छन्, ‘म यो सहरमा असुरक्षित लाग्न थालेको छु । तर पनि यहीँ बस्छु । बोल्न पनि डर लाग्न थालेको छ तर पनि हिम्मत हारेको छैन, कुनै दिन फेरि कमेडी गर्नेछु ।’

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते शुक्रवार