
काठमाडौं । चितवनमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ ।उक्त रंगशाला भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण हुँदैछ ।रंग शाला २२ बिघा १६ कट्ठा पाँच धुर जग्गामा निर्माण हुनेछ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो ।
सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ ।रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ ।भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।डिपिआरको खाकामा थपघटका लागि सुझाव लिन आज चितवनमा अन्तरकृया कार्यक्रम भयो ।कार्यक्रममा बोल्दै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रङ्गशाला तयार हुने बताए ।
परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ ।छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताइन् ।