कान्ति लाेकपथ हुँदै विभिन्न जिल्ला हिँडेका पैदल यात्रुहरूलाई छपेलीमा खानाको व्यवस्था !



बागमती गाउँपालिका वडा नं.३ ले कान्ति लाेकपथ हुँदै विभिन्न जिल्ला हिँडेका पैदल यात्रुलाई खाना खुवाउने व्यवस्था गरेको छ । वडा नं.३ का वडाध्यक्ष विष्णु तिमल्सिनाकाे विशेष सक्रियतामा खानाको व्यवस्था गरिएको हाे । दैनिक सयौंको संख्यामा कान्ति लाेकपथ हुँदै बाहिरिएकाहरुकाे पिडा देखेर आफुहरुले खानाको व्यवस्था गरेको वडाध्यक्ष तिमल्सिनाकाे भनाइ छ । साेमबार बिहानैदेखि खानाकाे व्यवस्था गरिएको र अहिलेसम्म २७ जना भन्दा बढीले खाना खाइसकेकाे जानकारी बागमती गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरे(समीर)ले बागमती अनलाइनलाई दिनुभयो । यसअघि पनि सयौंलाई खाजा र खानाको व्यवस्था गर्दै वडा र स्थानीय युवाले यातायातको व्यवस्था समेत गरिदिएका थिए । यसैबीच तिमल्सिना कन्स्ट्रक्सनका प्राेपाइटर केदार तिमल्सिनाले कान्ति लाेकपथ हुँदै विभिन्न जिल्ला हिंडेकाहरुलाइ यातायातको व्यवस्था गरिदिने भएका छन । बागमती गाउँपालिकाबाट अर्को पालिकाकाे सिमानासम्म यात्रुहरूलाई पुर्‍याउने गरिएको छ ।

कान्ति लाेकपथ हुँदै गन्तव्यमा हिडेका यात्रुहरूलाई खाजा र बासको व्यवस्थापनमा वडा नं.२ का वडाध्यक्ष विजय कुमार लाे पनि सक्रिय हुनुहुन्छ भने वडा नं.४ का वडाध्यक्ष नारायण घलेले पनि सयौंलाई खाजा,खाना र बासको व्यवस्था गरिसक्नुभएकाे छ । समग्रमा बागमती गाउँपालिकाले बिचल्लीमा परेका र पैदलमार्ग मार्फत गन्तव्यमा हिँडेकाहरुलाई सकेको सहयोग गरिरहेकाे उपाध्यक्ष रन्जना घिमिरेकाे भनाइ छ ।

प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार