निको भएपछि राजले भने अब अझै १५ दिन अलग्गै बस्नेछु



कैलाली, ७ बैशाख । कैलालीका लम्की चुँहा नगरपालिका–९ का २१ बर्षीय युवा कोरोना संक्रमणको उपचार पछि घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचारका लागि दुई साता बसेका राज विकलाई कारोनाको संक्रमण ठीक भएपछि घर पठाइएको हो । दुई साताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना नेगेटिभ देखिएको छ ।

विक चैत ११ गते मुम्वईबाट कैलाली आइपुगेका थिए । उनलाई चैत २३ गते कोरोना देखिएको थियो । लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा रहेका ४१ जनामध्ये उनलाई कोरोना देखिएको थियो । अस्पतालबाट छुट्ने क्रममा उनले आफूले राम्रो उपचार पाएको बताए । चिकित्सकको सल्लाह अनुसार आफु अझै १५ दिन अलग्गै बस्ने बताए । सेती प्रादेशिक अस्पतालका डाक्टर जगदीश जोशीले अस्पतालमा उपचाररत अन्य चार संक्रमितको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । कोरोना भाइरसविरुद्ध डटिरहेका नेपाली चिकित्सकहरुको यो चौथो सफलता हो ।

प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार