
वैशाख, ०६ जनकपुरधाम । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लकडाउन गरेको आज २६ दिन भइसकेको छ । यसरी लामो समयसम्म लकडाउन खुला नहुँदा हुँदा खानेहरुको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । दैनिक ज्यालादारी गरेर जीवन चलाउँदै आएका कतिपयले भोक भोकै दिनरात कटाइरहेका छन् । यसैबीच जनकपुरधाम उप महानगरपालिकाले आफ्नो नागरिकहरुलाई राहतसम्म बाँड्न नसकेको अवस्थामा स्थानीय प्रकाश मिश्रले आफ्नो व्यक्तिगत खर्चमा गरीब तथा न्यून आय भएकाहरुलाई मासु भात खुवाउदै आएका छन् ।
लकडाउनका कारण विहान वेलुका छाँक टार्न मुस्किल परिरहेकाको परिवारलाई विगत केही दिनयता स्थानीय प्रकाशले जनकपुर ८ रामानन्द चोकमा मासु भातको व्यवस्था गरेका हुन् ।
जनकपुरधाममै होटल सञ्चालन गर्दै आएका प्रकाशले विगत ८ दिनयता निःशूल्क भोजन उपलब्ध गराउँदै आइरहेका छन् । उनले गत ७ दिनयता शाकाहारी भोजन उपलब्ध गराउँदै आएका थिए । तर, शनिबार (आज) भने प्रकाश मिश्रले दैनिक ज्यालादारी गर्नै, गरीब, दलित तथा विपन्नहरुलाई निःशूल्क मासु भात, तरकारी, तिलको चटनीलगायतको भोजन गराएका छन् ।
लकडाउनका कारण गरीबहरुले भोक भोकै दिन कटाउनु पर्ने अवस्था देखेपछि आफ्नो मनमा त्यस्ता व्यक्तिहरुलाई भोजन उपलब्ध गराउनु नै धर्म हो भन्ने सोच पलाएको उनको भनाइ छ ।
यस अगाडि मिश्रले सामाजिक सञ्जालमा आफ्नो मोबाइल नम्बर राखेका थिए । उनको मोबाइलमा कल गर्ने विपन्न व्यक्तिहरुको घरमै भोजन समेत पुर्याउदै आएका छन् प्रकाशले । जसका लागि उनले दुई जना सहयोगी राखेका छन् । जनकपुरधाम उपमहानगरपालकाले आफू जस्तो निमूखा जनताका लागि राहतसम्मको व्यवस्था गर्न नसकेको अवस्थामा प्रकाश मिश्रले लगाएको गुण कहिल्यै नबिर्सिने एक स्थानीयले बताए । प्रकाश मिश्रले भने, ‘रुपैया त कमाउनु छँदैछ । अहिलेको विषम परिस्थितिमा भोको पेट भएकाहरुलाई सहयोग गर्नु नै ठूलो धर्म रहेको मलाई लाग्छ ।’