
काठमाडाैँ, ५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन र राहत पर्याप्त बनाउन सरकार समक्ष आग्रह गरेकाे छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती निकाल्दै भन्नुभएकाे छ, ‘निश्चय नै भावनामा बगेर बोल्ने बेला यो होइन, तर कोठा भित्र छट्पटीएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि यो होइन ।’
उहाँले सयौं किलोमीटर पैदल हिंडेर ती नागरिक घर गइरहेकाे र उनीहरूसँग अहिलेको बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने अवस्था नरहेकाे भन्दै यस्तै प्रतिकूलतामा नागरिकलाई राज्यको भरथेग चाहिने बताउनुभएकाे छ । ‘७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्यो,’ उहाँले भन्नुभयाे, ‘पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन नेपाली कांग्रेस नेपाल सरकार समक्ष आग्रह गर्दछ ।’
गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको बताउँदै प्रवक्ता शर्माले प्रश्न उठाउनुभएकाे छ- ‘अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’
उहाँले कोरोनाबाट जोगाउन परीक्षण अझै व्यापक बनाउनुपर्ने, भाेकमरी हुन नदिन राहत प्रभावकारी बनाउनुपर्ने माग राख्नुभएकाे छ। उहाँले भन्नुभएकाे छ, ‘सरकारलाई हामी विनम्र अपिल गर्दछौं, सचेत गराउन चाहन्छौं र सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन लागेको चेतावनीपनि दिन चाहन्छौं ।’