मेरो सकारको मुट र हृदयमा दया छैन, त्यसैले मजदुरलाई राहत छैन !



माधवप्रसाद घिमिरे | काेराेना भाइरसकाे महामारीका कारण पूरै देश बन्दाबन्दी(लकडाउन) भएको ३ साता बितिसकेकाे छ । चाैथाे पटक १२ दिनका लागि म्याद थपिएपछि बैशाख १५ गतेसम्म बन्दहुने पक्का भएको छ । अझै थपिन सक्ने आँकलन आमनागरिकहरुले गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्मका लागि बन्द गरिएको छ ।

कलकारखाना ठप्प छ । उद्योगहरु ठप्प छन् । दैनिक राेजगारी बन्द छ । देश बन्दाबन्दी हुँदा दैनिक मजदुरी गरेर छाक टार्नेहरु यतिवेला अत्यन्तै पीडा र भयभीत अवस्थामा छन् । सामान्यतया पनि एक जनाले कमाएर चार जनाकाे परिवार धान्ने र डेरा गरेर बस्नेहरुकाे गुजारा कसरी चलिरहेको हाेला । देशकाे शासनसत्ताकाे बागडोर सम्हालिरहेका, प्रदेश र स्थानीय सरकारकाे जिम्मेवारी सम्हालिरहेकाहरु यस विषयमा जानकार नभएका पनि पक्कै छैनन् । तर त्याे जानकार भएको अनुभूत न त त्याे दैनिक ज्यालादारी गर्ने मजदुरले गर्न पाएकाे छ, न त ती मजदुरहरुकाे पीडा देख्नेहरुले नै ।

लकडाउनबाट प्रभावित न्यून वर्गकालाई सरकारी तवरबाट राहत दिने भन्ने सरकारी निर्णय भयाे । २४ दिन बित्नै लाग्दा पनि ३ किलाे चामल,१ किलाे चिउरा, दाल र मसला देखाएर मजदुरकाे पेटमा खेलाइँची भइरहेको छ । जनताकाे नजिकैको भनिएकाे स्थानीय सरकारका हर्ताकर्ताहरु मजदुरकाे समस्या भन्दा पनि भाेटकाे राजनीतिमा केन्द्रीत छन् । जसलाई राहत चाहिएको छ । उसले पाएकाे छैन । जसलाई चाहिने छैन, उसलाई लिनका लागि प्रेरित गरिरहेका छन् ।

लकडाउनका कारण काम राेकिएकाे परिवारलाई भाेकाे बस्नु नपर्ने अवस्थाका लागि सरकारबाट केही पनि सहयाेग पाउने आश नभएपछि सकीनसकी शहर छाेड्नेहरु धेरै छन् । कान्तिलाेकपथ, विपीराजमार्ग, अरनिको राजमार्ग भएर पैदल यात्रा गर्नेहरु लस्करै भेटिन्छन् । शहरबाट गाउँतिर पैदल यात्रा तय गरेका मजदुरहरुकाे पीडा सामुन्नेमा देख्दा आँखाबाट आँसु नझर्ने मानिस नहाेला । काखमा दुधे बालक बाेकेर, त्यसमाथि पनि गतिलाे झाेला बाेकेर खुट्टा खाेच्याउँदै दैनिक ९०-१३० किलाेमिटर सडक पारकाे यात्रा तय गरेकी एउटी महिलाकाे अवस्था सरकारले देखेकाे छैन। आराम गरेर बस्नु पर्ने १८ दिनकी सुत्केरी महिला बच्चा च्यापेर ९५ किलाे मिटरकाे पैदल यात्रा गरिरहेकी छन्।

आमनागरिकहरुले सुख, समृद्धि र परिवर्तनका लागि नै देशमा गणतन्त्र ल्याउनका लागि संघर्ष गरे। तर परिवर्तन भएको र गणतन्त्र आएकाे महसुस हुन सकेन । राजतन्त्र फालियाे तर राजाभन्दा शक्तिशाली महाराजाहरु पैदा भए, तर आमनागरिककाे समस्या बुझ्ने राजनेताकाे उदय हुन सकेन । संघीयता आयाे, ७६१ वटा सरकार गठन भए । हिजाे चप्पल लगाएर मजदुरकाे कल्याण गर्ने भन्दै परिवर्तनको आन्दोलन घन्काउनेहरु महलमा बसेर सरकार सञ्चालन गरिरहेका छन्, तर गरिब र मजदुरकाे समस्या बुझिदिने र टारिदिने सरकार आएनन्। किनकी सरकारमा बस्नेहरुकाे मुटु नै छैन । हृदय नै छैन । दया नै छैन, मेराे सरकारकाे मुटु भएको भए १८ दिनकी सुत्केरी महिलाले ९५ किलाे मिटरकाे पैदल यात्रा गर्नुपर्ने थिएन ।

प्रकाशित मिति : २०७७ बैशाख ४ गते बिहिवार