महानगरले माग सम्बोधन नगरे आन्दोलन गर्ने स्वरोजगार व्यापार श्रमिक संघको चेतावनी



नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले एक महिनाभित्र महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले महानगरले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडपर्वलाई लक्षित गरेर निश्चित स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग अघि सारेको छ ।

स्वरोजगार श्रमिकहरूको व्यवस्थापनका लागि कानुन तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरूलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघको माग छ ।

यस्तै, चाडपर्वलाई लक्षित गरेर अल्पकालीन रूपमा बिहान र बेलुकोको निश्चित समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरू फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ ।

संघका अनुसार सडकपेटी, गल्ली, बजार, अस्थायी टहरामा श्रम गरेर गुजारा चलाउनेहरूको संख्या उपत्यकामा करिब ५० हजार र उनीहरूको आश्रित परिवार समेत गरी करिब दुई लाखजना रहेका छन् ।

संघले गएको भदौ ३० गते आफ्नो समस्याबारे महानगरमा ध्यानाकर्षणपत्र बुझाइएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार