माध्यमिक शिक्षा परिक्षा (एसइई) होमसेन्टरमा लिनेगरी छलफल सुरु !



काठमाडौं – सरकारले स्थगित भएका माध्यमिक शिक्षा परीक्षा (एसइई)देखि १२ कक्षासम्मको परीक्षा होम सेन्टरमा लिने तयारी गरेको छ । असहज परिस्थितिमा विद्यार्थीलाई टाढा गएर परीक्षा दिने मनस्थिति नहुने भन्दै शिक्षा मन्त्रालयले लकडाउन सकिए लगत्तै होम सेन्टरमा परीक्षा लिने गरी छलफल अघि बढाएको हो ।

परीक्षा केन्द्रको विकल्पका बारेमा शिक्षा मन्त्रालयले सरोकार पक्षसँग छलफल गरिरहेको बेला शिक्षा मन्त्रालयका विद्यालय महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद काप्रीले होम सेन्टर बनाइनुपर्ने पक्षमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत समक्ष यस्तो प्रस्ताव अघि सारेका हुन । सहसचिव काप्रीले विद्यार्थी घर बसेर जाँच दिन सक्ने गरी तयार भएको अहिलेको अवस्थामा होम सेन्टरनै उपयुक्त विकल्प बताए । यद्यपि विकल्पहरुका बारेमा छलफल भने भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी भने सबै होम सेन्टर बनाउने गरी व्यवस्था गर्नुपर्ने पक्षमा छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले होम सेन्टर भन्दापनी विद्यार्थीले सहजरूपमा घरबाट परीक्षा दिन जान–आउन सक्ने गरी परीक्षा केन्द्र कायम गर्न सकिन्छ कि भन्ने तयारीमा लागेको बताए । उनले भने ‘कोरोना भाइरस संक्रमणको अवस्था हटेर सामान्य भएपछि सकेसम्म विद्यार्थी घरबाट हिँडेर पुग्न सकिने ठाउँमा पढेकोभन्दा फरक विद्यालयमा पर्ने गरी नयाँ सेन्टर कायम गर्न सकिन्छ कि भनेर होमवर्क गरिरहेका छौँ ।’ विद्यालय तहमा परीक्षा हुन बाँकी रहेका कक्षा १०, ११ र १२ मा गरी करिब १४ लाख विद्यार्थी छन् । कोरोनाको संक्रमण रोक्न सरकारले लकडाउन गर्नुपुर्वनै चैत ६ गतेदेखि हुने एसइइ परिक्षा स्थगित गरेको थियो भने ११ र १२ को बार्षिक परिक्षापनि अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार