कोरोनाले लियो ‘भाइरसभन्दा यशु ठुलो’ भन्ने पास्टरको ज्यान



एजेन्सी । अमेरिकाको भर्जिनियास्थित न्यु डेलिभिरेन्स इभान्जेलिस्टक चर्चका पास्टर विशप जेरल्ड ग्लेनको कोरोना भाइरसका कारण आइतबार निधन भएको छ । ग्लेनकी नातिनी मार्गेरी क्रलीले एक भिडियो सन्देश जारी गर्दै आफ्ना हजुरबुबालाई कोरोना भएको पुष्टि गरेकी छिन् ।

यसअघि २२ मार्चमा भजिर्नियाका गर्भनर राल्फ नर्थामले १० जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउनेगरी आदेश जारी गर्नुअघि उनले चर्चमा आफ्ना भक्तजनलाई प्रवचन दिएका थिए । ‘यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठुला छन् भन्ने मेरो गहिरो विश्वास छ,’ उनले भनेका थिए । उनले आफुलाई मर्ने डर नभएको पनि बताएका थिए ।

४ अप्रिलमा ग्लेनकी छोरीले भिडियो पोस्ट गर्दै आफ्ना बाबु र आमा मार्सिया ग्लेन दुबैमा कोरोना संक्रमण देखिएको बताएकी थिइन् । चर्चले उनको निधनमा गहिरो शोक प्रकट गरेको छ । शोकाकूल परिवारमा कोरोना संक्रमणबाट बच्नुपर्ने चुनौती समेत रहेकाले उनीहरुलाई आफ्नै ढंगले शोक मनाउन दिइने चर्चको विज्ञप्तीमा उल्लेख छ । चर्चले संक्रमितहरुको छिटो शिघ्र स्वास्थ लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार