सत्ता गठबन्धनमा सिट बाँडफाँट, बागमती प्रदेशका यी जिल्लामा जुट्यो सहमती, कुन क्षेत्र कसको भागमा ?



काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले केही जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँट टुंगाे लगाएका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले केही दिन दलहरु त्यसतर्फ केन्द्रित हुने भएका छन् । त्यस लगत्तै फेरी बसेर बाँकी सिट बाँडफाँटमा सहमतिकाे प्रयास गर्ने नेताहरुले बताएका छन् ।

गठबन्धनले बागमती प्रदेशका १३ जिल्ला मध्ये धेरैमा सहमति जुटाएको छ । काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० मा कांग्रेसको मात्र दाबी छ भने ७ जसपा र ८ एकीकृत समाजवादीलाई छाड्न अरु दल सहमत भएका छन् । २ मा कांग्रेससँगै माओवादीको दाबी छ भने ९ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी छ ।

भक्तपुरको दुबै क्षेत्र कांग्रेसले पाउने निश्चित जस्तै भएको छ भने ललितपुरको १ कांग्रेस र ३ माओवादीले लिनेछ । २ मा भने कांग्रेस र एकीकृत समाजवादीको दाबी छ ।

कार्यदल र शीर्ष तहमा भएको छलफलअनुसार काभ्रे र सिन्धुपाल्चोक दुबैमा क्षेत्र नम्बर १ माओवादीले लिनेछ भने २ कांग्रेसको भागमा पर्नेछ । मकवानपुरमा कांग्रेस र एकीकृत समाजवादीले १–१ सिट लिने सहमति भएको छ । रसुवा कांग्रेसको मात्र दाबी परेको छ भने धादिङ क्षेत्र नम्बर १ मा माओवादी र एकीकृत समाजवादीको र २ मा कांग्रेसको मात्र दाबी छ ।

नुवाकोटको क्षेत्र नम्बर १ माओवादी र २ मा कांग्रेसको मात्र दाबी छ । तर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रवक्ता डा। प्रकाशशरण महतलाई १ मा उम्मेदवार बनाउन चाहेकाले २ लिन माओवादी नेताहरुलाई भनेका छन् । यसमा सहमति जुटेको छैन ।

सिन्धुलीको १ कांग्रेस र २ माओवादीले लिने छ भने दोलखा र रापेछापमध्ये १–१ वटा माओवादी र कांग्रेसले लिनेछ । चितवनको १ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ भने २ कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाड्न सबै दल एकमत छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ३० गते बिहिवार