लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय



आइतबार बसेको मन्त्रिपरिषद बैठकमा नयाँ अभ्यास । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं। सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्‍दै सरकारले चैत ११ देखि लकडाउन गरेकाे हाे । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म कायम राखिएको थियो ।

लकडाउन सकिनु एक दिनअघि बसेको मन्त्रिपरिषद बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ । नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो समय मंगलबार काठमाडौं पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार