विश्वभर ५ करोड मानिस दासको रूपमा बाँच्न बाध्य, धनी देशमा पनि दासत्वको समस्या



विश्वभर पाँच करोड जना मानिस दासको रूपमा बाँच्न बाध्य भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गरेको अध्ययनले महामारी र युद्धका कारण दास बन्न बाध्य हुने मानिसको सङ्ख्या निकै तीव्र गतिमा बढेको देखाएको छ । सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन र विश्वव्यापी महामारीका कारण आधुनिक दासत्व बढ्दो चुनौती बनेको छ ।

आईएलओका अनुसार अहिले विश्वभर ५० मिलियन अर्थात् पाँच करोड मानिस दास बन्न बाध्य छन् । एक सय ५० जना जीवित व्यक्तिमध्ये एक जना जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा फसेका छन् । यो पाँच वर्षअघिको तुलनामा यसको सङ्ख्यामा झन्डै एक करोडले बढी हो । आईएलओले आधुनिक दासत्वको बढ्दो सङ्ख्यालाई चकित पार्ने तथ्याङ्क भनेको छ ।

आईएलओका महानिर्देशक गाई राइडरले मानव अधिकारको यो दुरुपयोगको निरन्तरतालाई रोक्न नसकेमा अवस्था झनै खराब हुने बताएका बीबीसीले जनाएको छ । ट्रेड युनियन, रोजगारदाता सङ्गठन, नागरिक समाज र साधारण मानिस सबैले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको उनले बताएका छन् । संयुक्त राष्ट्रको श्रम सङ्गठनले दासत्व गरिब देशमा मात्र सीमित नभइ आधाभन्दा बढी मध्यम वा उच्च आय भएका धनी देशमा पनि रहेको जनाएको छ ।

आईएलओले जबरजस्ती श्रम र जबरजस्ती विवाह दुवैलाई आधुनिक दासताको रूपमा गणना गर्दछ । पाँच करोड जना दासमध्ये ३३ लाख जना बालबालिका हरेका छन् । यसमध्ये आधाभन्दा धेरै बालबालिका व्यावसायिक यौन शोषणमा रहेका छन् । दुई करोड ६ लाख जना मानिस जबरजस्ती श्रममा छन्, यस्तै दुई करोड दुई लाख जना जबरजस्ती विवाह गर्न बाध्य भएका छन् । उनीहरू १५ वर्षमुनिका छन् ।

कोभिड–१९ महामारीले मानिसको आम्दानीमा ठूलो बाधा पुर्‍याउँदा नागरिक थप ऋणमा डुबेको र ऋण तिर्न नसक्दा दास बन्नुपरेको अध्ययनले देखाएको छ । महामारीले २० वर्षमा पहिलो पटक चरम विश्वव्यापी गरिबीमा वृद्धि भएको आईएलओले बताएको छ । युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकालाई बाल सैनिकको रूपमा काम गर्न वा सेवा गर्न भर्ती गराएको छ । यस्तै जलवायु परिवर्तनले मानिसलाई आफ्नो घर छोडेर आप्रवासी बन्न बाध्य तुल्याएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०७९ भाद्र २८ गते मङ्गलवार