
सरकारले कोरोना भाइरसको महामारीलाई रोकथाम र नियन्त्रण गर्न भन्दै हरेक प्रदेशमा र्यापिड टेस्ट किटमार्फत स्वास्थ्य परीक्षण थालेको छ । हरेक प्रदेशमा भएका क्वरेन्टीनमा र्यापिड किटमार्फत कोरोना भाइरसको सङ्क्रमण भए/नभएको बारे परीक्षण हुन थालेको छ । तर र्यापिड टेष्ट किटमार्फत हुने परीक्षणको नतिजालाई नै अन्तिम भने मान्न नसकिने स्वास्थ्य मन्त्रालयले नै जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार र्यापिड टेष्ट किटमार्फत भएको परीक्षणको नतिजालाई नै अन्तिम मान्न सकिदैन । कोरोना भाइरसको सङ्क्रमण भए/नभएको बारे पीसीआर विधिमार्फत गरिने परीक्षण नै निर्णायक हुनेछ ।
डाक्टर देवकोटा भन्नुहुन्छ, ‘र्यापिड टेष्ट किटमार्फत समुदायमा कोरोना फैलने आशंका कति छ भनेर अनुमान गर्न सकिन्छ । कतिपय अवस्थामा र्यापिड टेष्ट किटमा नेगेटिभ देखिए पीसीआर विधिमा पोजेटिभ देखिन अनि र्यापिड टेष्टमा पोजेटिभ देखिए पीसीआरमा नेगेटिभ देखिने सम्भावना पनि रहन्छ ।’