मलेसियाबाट फर्केर छाला व्यवसाय सुरु : स्थानीयले पाए रोजगारी



मलेसियाबाट फर्केर छाला व्यवसाय सुरु : स्थानीयले पाए रोजगारी

सिन्धुपाल्चाेक – गाउँमै व्यवसाय गरेर आर्थिकरूपमा सक्षम बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ मेलम्ची नगरपालिका–५ सिन्धुकोटका दीपक बोगटी । विसं २०७० मा रोजगारी खोज्दै मलेसिया जानुभएका उहाँ अहिले गाउँ फर्केर स्वरोजगार बन्दै अन्यलाई पनि रोजगारी दिइरहनुभएको छ ।

बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो । विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेको बताउनुहुने उहाँको छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएका छन् । बोगटी मात्रै होइन सिन्धुकोटका ९० घरले उक्त व्यवसाय गरिरहेका छन् । नब्बे घरको उद्योग व्यवसायको अध्यक्षसमेत बोगटी नै हुनुहुन्छ ।

बाउबाजेले परम्परागतरूपमा गर्दै आएको व्यवसाय अहिले आधुनिकीकरण गदै नयाँ उपकरणद्वारा सञ्चालन गर्दा झनै राम्रो उत्पादन हुने गरेको अर्का व्यवसायी बालकुमार बस्यालले बताउनुभयो ।

उहाँका अनुसार पहिला–पहिला बाजेहरूले हातले बनाउने गर्नुहुन्थ्यो भने अहिले आधुनिक उपकरणद्वारा सामग्री उत्पादन गरिन्छ । अहिले सिन्धुकोटमा चारवटा उद्योग सञ्चालनमा आएका छन् । छाला ब्याग उद्योगमा छालाबाट बन्ने विभिन्न सामग्री उत्पादन हुने गरेका छन् ।

परम्परागतरूपमा गर्दै आएको छालाको सामान बनाउने पेशालाई आधुनिक उपकरणद्वारा ब्याग, स्कुलब्याग, ल्यापटप ब्याग, पर्स, बेल्टलगायत सामग्री बनाउन थालेपछि युवाहरूले गाउँमै बसेर मनग्य आम्दानी गरेका छन् । नगरपालिका, सङ्घसस्था, वडा कार्यलयहरूसँग सम्मन्व गरेर काम गरिरहेको अर्का व्यवसायी चुलबहादुर बस्यालले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार