कहिले आउँछ स्थायी शिक्षकको नतिजा ? यस्तो छ शिक्षक सेवा आयोगकाे तयारी



काठमाडौँ- शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जनाएको छ ।

आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको हुँदा सो कार्य सकिए लगत्तै नतिजा प्रकाशित गर्ने तयारी छ।

आयोग स्रोतका अनुसार उत्तरपुस्तिका संकलन गरेर कोडिङको सबै काम सकेर उत्तरपुस्तिका परीक्षण भइरहेको छ । ‘आयोगले सातवटै प्रदेशबाट उत्तरपुस्तिका संकलन गरेर परीक्षण गरिरहेको छ’, स्रोतले भन्यो, ‘हामीले असोजसम्म उत्तरपुस्तिका परीक्षण सकेर असोजमै नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका छौँ ।’

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार