
चैत २७ । नायक राज घिमिरेले गोदावरी नगरपालिका विपद व्यवस्थापन आकस्मिक कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरण गरी नगरवासीहरुलाई सुरक्षित राख्न कोरोना भाइरस (कोभिड–१९) बाट हुने जोखिम कम गर्न र राहत बितरणमा सहयोग पुगोस भन्दै नायक घिमिरेले गोदावरी नगरपालिकाको कार्यालयमा पुगेर मेयर गजेन्द्र महर्जनलाई उक्त रकम हस्तान्तरण गरेका हुन । सहयोग रकम हस्तान्तर गर्दै घिमिरेले यो आपतकालिन अवस्थामा नगरपालिकाले आवश्यक सामान खरिद गरि जनतालाई राहत दिन आग्रह गरे । अहिले बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि लक डाउनको अवस्था रहेको बताउदै घिमिरेले लकडाउनलाई हामी सबैले पुर्ण रुपमा पालना गर्नु पर्ने बताए ।
एकल महिला, बुढा बुबा, आमा, बेसाहरा र श्रमजीवि वर्गलाई भोकै बस्नु पर्ने अवस्था नआओस भन्दै घिमिरेले राहत बितरणको कामलाई अझै तिब्रता दिनु जरुरी रहेको बताए । जसले पनि राहत बितरण गर्दै हिड्दा भिडभाड बढ्ने र कोरोना संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै स्थानीय तहलाई जिम्मा लगाएर एकद्वार प्रणाली मार्फत राहत बितरण गर्ने बातावरण मिलाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर महर्जनले कोरोना भाइरसको जोखिम न्यूनीकरण र नगरवासीहरुलाई सुरक्षित राख्न नगरपालिकाले स्थापित गरेको कोषमा सहयोग गरेकोमा सहयोगी नेताहरुलाई धन्यवाद दिएका थिए । उनले गोदावरी नगरपालिकाले अहिले आफ्नो क्षेत्रमा राहत बितरण गरिरहेको बताउदै यसलाई अझै तिब्रता दिने प्रतिबद्धता जनाएका छन । महामारी फैलन सक्छ भन्दै यस अघि घिमिरेले व्यक्तिगत रुपमा गोदावरी नगरपालिकाको डिसइन्फेक्सन स्प्रे पनि छर्किएका थिए । यति मात्र होइन गोदावरी नगरपालिकाका विभिन्न स्थानमा पुगेर कोरना भाइरस सम्बन्धी जनचेतना फैलाउने, मास्क, सेनेटाइजर र गरिव, एक महिला, अपाङ्ग, विरामी परिवारलाई राहत समेत वितरण गरेका थिए । घिमिरे नेकपा ललितपुरको जिल्ला सदस्य, कला तथा संस्कृत विभागका संयोजकसमेत हुन् ।