ह्वाइट हर्स मेनपावर मा रोजगार बिभाग ले छापा मर्दा निस्कियो ८७ वटा पासपोर्ट को जाली खेल



ह्वाइट हर्स मेनपावर मा रोजगार बिभाग ले छापा मर्दा निस्कियो ८७ वटा पासपोर्ट को जाली खेल

काठमाडौंस्थित सिनामंगलमा रहेको ह्वाइट हर्स मेनपावरले विज्ञापन प्रकाशनबिना मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा वैदेशिक रोजगार विभागमा आयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नै छापा हान्न विभागलाई निर्देशन दिएका थिए ।

त्यहि आधारमा विभागको टोली कम्पनीमा छापा हान्न निस्किएको थियो । छापा मार्ने क्रममा त्यस्तो सूचना अनुसार केही भेटिएन । विभागले छापा मार्दा किङ फिसर मेनपावरबाटै वैदेशिक रोजगारीका लागि शुक्रबार २३ जना मलेसिया जाने तयारीमा थिए । मलेसिया जान लागेका युवाहरुलाई विभागको टोलीले मेनपावरलाई कति पैसा लिएको भनेर प्रश्न सोध्दा उनीहरुले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए । त्यस्तै मेनपावरका कर्मचारीहरूले पनि फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरे ।

तर, त्यहाँ विभागको टोलीले अर्को रहस्य पत्ता लगायो । त्यो थियो,– अर्कै कम्पनीका ८७ वटा पासपोर्ट । बिहीबार दिउँसो विभागको टोलीले छापा मार्दा किङ फिसर नामक म्यानपावरका कागजात फेला परे भने ८७ थान पासपोर्ट समेत जफत गरेको थियो । पासपोर्टसँग मेडिकल रिपोर्ट पनि राखिएको थियो । विभागले पासपोर्ट लिएर मेडिकल रिपोर्ट भने त्यही छोडिदिएको थियो ।

विभागले किङ फिसर र ह्वाइट हर्स मेनपावर कम्पनीका अधिकारीहरुलाई विभागमा बोलाएको छ । दुवै कम्पनी दाजु-भाइले सञ्चालन गर्दै आएका छन् । रोचक कुरा के छ भने ह्वाइट हर्स मेनपावर सञ्चालक सागर गिरी मलेसिया छन् । उनी उतैबाट आफ्नो कम्पनी चलाउँदै आएका हुन् । उनले नेपालमा कर्मचारी राखेर मलेसियाका डिमाण्डहरु आफ्नो कम्पनीमार्फत ल्याउँदै आएका हुन् ।

किङ फिसर मेनपावरमार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका ८७ थान पासपोर्ट बरामद गरिएको विभागको अनुसन्धान अधिकृत हिमराज अर्यालले जानकारी दिए । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले बताए । त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारवाही हुने र त्यसको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो । तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए । किङ फिसरका सञ्चालक रबि गिरी हुन् । उनले मेडिकल गराउनको लागि अर्को कम्पनीलाई दिएको र त्यसबापत केही शुल्क लिएको हुनसक्ने अनुमान गरिएको छ । यस विषयमा कम्पनीका कर्मचारी र सञ्चालक दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए । एउटा मेनपावर कम्पनीले अर्को मेनपावर कम्पनीका पासपोर्ट लिन नपाउने भन्दै दुवै कम्पनीमाथि वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको अर्यालले बताए । विभागले यसअघि बिहीबार मात्रै कतार प्रहरीमा पठाउन १५ लाखसम्म लिने गरेको गुनासोको आधारमा अल ताक्वेत ओभरसिजमा छापा मारेको थियो । त्यसका पनि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार