गाेदावरी नगरपालिका विपद व्यवस्थापन काेषमा नेपाली कांग्रेसका तीन नेताको आर्थिक सहयोग !



नेपाली काँग्रेसका तीन नेताले गोदावरी नगरपालिका विपद व्यवस्थापन आकस्मिक कोष’ मा नगद एकलाख एक हजार रुपैया सहयोग गरेका छन । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम न्यूनीकरण गरी नगरवासीहरुलाई सुरक्षित राख्न कोरोनाबाट हुने जोखिम कम गर्न र राहत बितरणमा सहयोग पुगोस भन्दै पुर्व अर्थराज्य मन्त्री उदय सम्सेर राणा, महासमिती सदस्यहरु ऋषिराम घिमिरे र मीन कृष्ण महर्जनले संयुक्त रुपमा गोदावरी नगरपालिकाको कार्यालयमा पुगेर मेयर गजेन्द्र महर्जनलाई उक्त रकम हस्तान्तरण गरेका हुन । घिमिरे र महर्जन ललितपुर क्षेत्र नं. १ क र ख प्रदेशका नेपाली काँग्रेसका उम्मेद्वार समेत हुन ।

सहयोग रकम हस्तान्तर गर्दै पुर्व मन्त्री राणाले यो आपतकालिन अवस्थामा नगरपालिकाले आवश्यक सामान खरिद गरि जनतालाई राहत दिन आग्रह गरे ।अहिले बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि लक डाउनको अवस्था रहेको बताउदै पुर्वमन्त्री राणाले लकडाउनलाई हामी सबैले पुर्ण रुपमा पालना गर्नु पर्ने बताए । एकल महिला, बुढा बा आमा, बेसाहरा र श्रमजीवि वर्गलाई भोकै बस्नु पर्ने अवस्था नआओस भन्दै नेता राणाले सरकारले राहत बितरणको कामलाई अझै तिब्रता दिनु जरुरी रहेको बताए । जस्ले पनि राहत बितरण गर्दै हिड्दा भिडभाड बढ्ने र कोरोना संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै नेपाली काँग्रेसका युवा नेता राणाले स्थानीय तहलाई जिम्मा लगाएर एकद्धारा प्रणाली मार्फत राहत बितरण गर्ने बातावरण मिलाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कोरोना भाइरसको जोखिम न्यूनीकरण र नगरवासीहरुलाई सुरक्षित राख्न नगरपालिकाले स्थापित गरेको कोषमा सहयोग गरेकोमा सहयोगी नेताहरुलाई धन्यवाद दिएका थिए । उनले गोदावरी नगरपालिकाले अहिले आफ्नो क्षेत्रमा राहत बितरण गरिरहेको बताउदै यसलाई अझै तिब्रता दिने प्रतिबद्धता जनाएका छन ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार