११ करोड लागतमा बागमति गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने !



ललितपुर । ललितपुरको बागमति गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । २०७८ जेठ १३ गते भित्र निर्माण सम्पन्न गर्ने गरी आइतवार गाउँपालिका वडा नं. ३ स्थित भट्टेडाँडाँमा प्रशासनिक भवनको शिलन्यास भएको हो । कूल आठ करोड ८७ लाख ३७ हजार ७६६ रुपियाँ लागतमा गाउँपालिकाको कार्यालय भवन निर्माण हुन लागेको हो ।

प्रशासनिक भवनको अभावमा सेवा प्रवाहमा समस्या भइरहेका बेला बागमति गाउँपालिकाले गाउँपालिकाको कार्यालय भवन निर्माणलाई उच्च प्राथमिकता दिएको हो । गाउँपालिकाको कार्यालय भवनको शिलन्यास गर्दै प्रदेश ३ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले गाउँपालिकाको प्रशासकिन भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय सरकार सेवाग्राहीको नजिकको सरकार भएकाले गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मन्त्री जमकट्टेलले तीनै तहको सरकार मध्ये स्थानीय तह सेवा प्रवाह गर्ने नजिकको सरकार भएको बताउनुभयो ।

गाउँपालिकाले विस्तृत परियोजना प्रस्ताव ( डिपिआर) सहित प्रदेश सरकारमा आए प्रदेश सरकारले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलले निर्धारित समय भित्रै प्रशासनिक भवन निर्माण गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चन तथा प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले गाउँपालिकाको प्रशासकिय भवन निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई सबै पक्षबाट साथ र सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

पूर्व अर्थ राज्य मन्त्री उदय शमशेर राणा, नेपाली काँग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरे, गाउँपालिकाका सातवटै वडाका वडाध्यक्ष र स्थानीय राजनीतिक दलका प्रतिनिधिले स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे दुई वर्षमै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको शिलन्यास हुनु खुसीको कुरा भएको बताउनुभयो ।


उहाँहरुले निर्माण व्यवासायिलाई प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्ने र निर्माण व्यवसायीले पनि निर्धारित समयसीमा अगाडि नै काम सम्पन्न गरेर समाजमा उदारणीय बन्न आग्रह गर्नुभयो । उक्त भवन गाउँपालिकाको आफ्नै आन्तरिक स्रोत र जिल्ला समन्वय समिति ललितपुरको बजेटबाट प्रशासनिक निर्माण हुन लागेको हो । भट्टेडाडाँमा गत वर्ष गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि सात रोपनी जग्गा गाउँपालिकाले किनेको थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार