अष्ट्रेलियाको भिसामा थप कडाई ! भेट सेक्टरका अधिकांश भिसा रद्द

विद्यार्थी भिसामा कठिनाइ बढेपछि अस्ट्रेलियन अध्यागमन मन्त्री भेट्न पुगे शैक्षिक ब्यवसायी


अष्ट्रेलियाको भिसामा थप कडाई

उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ भएपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन्। पछिल्ला दिनमा नेपालबबाट आउने विद्यार्थीको भिसा प्रकृया निकै कडाइ गरिएकाले भेट सेक्टरका अधिकांश भिसा रद्द भएका छन्।

कोरोनाकालपछिको ६ महिनामा नेपाली विद्यार्थीको चाप ह्वात्तै बढ्नु र एकाएक जुन महिनापछि अधिकांश भिसा रद्द हुँदा यो पेशासँग जोडिएका नेपालीमुलका व्यवशायी तथा शैक्षिक परामर्शदाता केन्द्रीय अध्यागमन मन्त्री एन्ड्रयु गील्सलाई भेटेर समस्याको समाधानका लागि आग्रह गरेका हुन्।

एकपछि अर्को गर्दै नेपाली विद्यार्थी र नेपालसँग जोडिएका केही गलत अभिब्यक्ति सार्वजनिक हुनुका साथै यसले समग्र शैक्षिक उद्योगमा परेको प्रभावका विषयमा गहन छलफल गरिएको एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले जानकारी दिए। ‘हामीले यस बिषयमा सरोकारवालाको तर्फबाट ग्रानभिलमा भेटेर आफ्ना कुराहरु स्पष्ट पारेका छौ’, खड्काले भने।

यसअघि पनि नेपालीमुलका शैक्षिक उद्योगीले लिबरलका एनएसडब्लुका मन्त्री तथा प्रभावशाली नेता मार्क कुरेसँग भेटेर यो समस्याका विषयमा अवगत गराएका थिए। एनआरएन उपमहासचिव गणेश केसीले भेटमा पछिल्ला दिनमा नेपाली विलार्थीको प्रवेशाज्ञामा भएको कडाइ र यसले पारेको प्रभावको विषयमासमेत मन्त्री गिल्सलाई अवगत गराइएको बताए।

शैक्षिक उद्योगीसमेत रहेका केसीले यसरी नेपाल र नेपाली विद्यार्थीको विषयमा गलत प्रचार गरेर दिग्भ्रमीत पार्ने कार्य रोकिनुपर्ने धारणा समेत राखिएको सुनाए। कार्यक्रममा शैक्षिक परामर्शदाताको तर्फबाट एकाका अध्यक्ष भुपाल सिटौलाले उज्वल भविष्यको कल्पना गरेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया रोज्ने अब्बल विद्यार्थीलाई प्रवेशाज्ञा नदिँदा यसले पार्ने नकारात्मक प्रभावको विषयमा समेत जानकारी गराइएको बताए।

‘गलत काम गर्ने र आधारभूत आवश्यकता पुरा नगर्नेलाई रोक्दा खासै समस्या रहँदैन, तर एउटा अब्बल विध्यार्थीलाई अनेकन बहानामा उच्च अध्ययनबाट बञ्चित गराउँदा यहाँको शैक्षिक उद्योगप्रतिनै गलत शन्देश जानसक्छ भन्ने हाम्रो चिन्ता जताएका हौ’, अध्यक्ष सिटौलाले सेतोपाटीसँग भने।

सिटौलाले यता भिसामा कठिनाइ हुन थालेपछि नेपाली विद्यार्थी अमेरिका, क्यानडा र युरोपतिर जानसक्ने सम्भावनालाई समेत उजागर गरेका थिए। महाबाणिज्यदूत दिपक खड्काको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डलमा एनआरएनका पूर्व अध्यक्ष गोवा कटुवाल, व्यवसायी सन्जिव शर्मा, प्रेम सापकोटा र शिशिर नेपाल थिए।

कार्यक्रममा पारामाटा क्षेत्रका लेबरका सांसद डा एन्ड्रयु चाल्र्टनको पनि उपस्थिति थियो। भेटमा अध्यागमन मन्त्री एन्ड्रयुले पछिल्ला दिनमा देखिएको यस्ताखाले समस्याका विषयमा सक्दो सहयोग गर्ने बचनबद्धता प्रकट गरेका थिए।अस्ट्रेलियन अध्यागमन विभागद्धारा हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको छ।

गत जुलाइ ४ मा अस्ट्रेलियन सरकारद्धारा जारी गरिएको अध्यागमन सम्बन्धी नयाँ प्रतिवेदनमा नेपाली विद्यार्थीको भेट सेक्टरमा नक्कली कागजातको बढ्दो प्रयोगलाई स्पष्ट रूपमा इंगित गर्दै यसप्रति अस्ट्रेलियन सरकारको गम्भीर चासो रहेको बताएको छ।

विगतमा विद्यार्थी भिसालाई केही सहज बनाएको अष्ट्रेलिया सरकारले अब पढ्ने र पढ्न चाहने विद्यार्थीलाई प्राथमिकतामा राखेको छ।
अध्यागमन सम्वन्धि सरकारको नयाँ प्रतिवेदनमा अष्ट्रेलिया पढ्न आउने विद्यार्थी गम्भीर नभएको र प्रोभाइडर समेतले उनीहरूलाई भर्ना प्रकृयामा गम्भीरता नदेखाएको उल्लेख गरेको छ।

शैक्षिक उद्योगीले विद्यार्थीलाई उनीहरूको योग्यता र दक्षता नाप्न भिडियो अन्तर्वार्ता लगायतका महत्वपूर्ण विषयमा समेत उदासिन रहेको प्रतिवेदनमा उल्लेख छ। पढ्नका लागि आर्थिक तथा शैक्षिक योग्यता पुरा गरेर आएका विद्यार्थी केही महिनामै कोर्स परिवर्तन गर्ने र कलेज परिवर्तन गर्नेजस्ता गतिविधि बढ्दै गएकोमा चिन्तासमेत ब्यक्त गरिएको छ।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार