कतारमा आफ्नै साथीको हत्या गरेका कमल थिङ ‘ब्लड मनी’ नतिरी कसरी नेपाल फर्किए ?



कतारमा आफ्नै साथीको हत्या गरेका कमल थिङ ‘ब्लड मनी’ नतिरी कसरी नेपाल फर्किए ?

धनुषाका शिवरतन राउत साउदीमा सात वर्ष बिताएर घर फर्किए । घरको आर्थिक अवस्था उस्तै भएपछि उनी पुनः वैदेशिक रोजगारीमा जाने निर्णयमा पुगे । त्यसपछि उनी कतार पुगे । तर, कतार उनको जीवनकै अन्तिम गन्तव्य बन्न पुग्यो ।

८ सेप्टेम्बर २०१८ का दिन उनी ड्युटीमै थिए । ड्युटीकै क्रममा साथीभाइ जिस्किन थाले । उनी अरू साथीहरूभन्दा उमेरमा सिनियर थिए । जिस्किँदै जाँदा सिन्धुलीका कमल थिङले सडकमा धुलो सफा गर्ने कम्प्रेसर मेसिनले धुलो उडाउन थाले । उनलाई अलिकति धकेलेका थिए, उनी खाल्डोमा परेर घाइते भए ।कमलसँगै अन्य साथीभाइले उनलाई तुरून्तै अस्पताल लगे । उपचारको क्रममा उनको मृत्यु भयो । उनको मृत्युपछि कतार प्रहरीले कमललाई पक्राउ ग-यो । कतारको क्रिमिनल कोर्टले २८ नोभेम्बर २०१८ मा कमललाई ३ वर्षको जेल सजाय र मृतकको परिवारलाई २ लाख कतारी रियाल (६० लाख नेपाली रूपैयाँ) ‘ब्लड मनी’ तिर्नुपर्ने सजाय सुनायो ।

क्रिमिनल कोर्टको उक्त सजायविरुद्ध कमलले पुनरावेदन गरे । कतारको पुनरावेदन अदालत (कोर्ट अफ अप्पियल) ले ३ वर्षको जेल सजाय घटाएर ६ महिना कामय गरिदियो । ‘ब्लड मनी’ भने यथावत राख्ने निर्णय गरिदियो ।कमलले ६ महिनाको जेल सजाय पूरा गरे । त्यसपछि उनलाई कम्पनीको क्याम्पमा राखियो । ‘ब्लड मनी’ नतिर्दासम्म नेपाल फर्किन नपाउने भनिएका कमल यतिबेला नेपाल फर्किसकेका छन् । उनले मृतकको परिवारलाई तिर्नुपर्ने ‘ब्लड मनी’ तिरेका छैनन् ।

कोरोना महामारीका बेला सरकारले कतारबाट धेरै नेपालीको उद्धार गरेको थियो । त्यही बेला उनी उद्धार फ्लाईटमार्फत नेपाल आउन सफल भएका हुन् । पीडित परिवारले उनी नेपाल फर्किसकेको भन्ने जानकारी पाएको छ । तर, उनले न ‘ब्लड मनी’ तिरेका छन्, न त पीडित परिवारको सम्पर्कमा छन् ।‘ब्लड मनी’का लागि भन्दै नेपालबाट विभिन्न संघ संस्थाले पैसासमेत उठाए । पैसा नतिरी नेपाल फर्किएपछि उनको नाममा उठाएको पैसा विभिन्न संघ संस्थाले फिर्ता गरिसकेका छन् ।

मृतक शिवरतनका जेठा छोरा राजनले अहिलेसम्म ‘ब्लड मनी’ नपाएको बताए । पीडक नै नेपाल फर्किसकेको जानकारी आफूले समेत पाएको भन्दै उनले आफ्नो परिवारले न्याय नपाएको गुनासो गरे ।यस विषयमा उनले सरकारी निकाय पटक–पटक गुहार गर्दै आएका छन् । तर, उनीहरूको जवाफ सधैँ उस्तै हुन्छ– हामी प्रयास गर्दैछौं । यो नेपालको लागि अनौठो खालको घटना हो । यसमा कसरी अगाडि बढ्ने भन्नेमा सरकारी अधिकारी नै अनभिज्ञ छन् ।

यो विषय लिएर हामी कन्सुरल सेवा विभाग पुग्यौं । विभागका अधिकारी नै आश्चर्यचकित परे । विभागका निर्देशक तथा प्रवक्ता प्रकाश अधिकारी घटनाबारे कुनै जानकारी नभएको बताउँछन् । ‘ब्लड मनी नतिरी कोही पनि नेपाल फर्किन पाउँदैनन् । कतार प्रहरीले नै ‘ब्लड मनी’ नतिरी छोड्दैन । तर, यो कसरी यस्तो भयो, हामी नै चकित परेका छौं,’ प्रवक्ता अधिकारीले भने ।

प्रवक्ता अधिकारीका अनुसार सामान्यतया जेलमै रहेका बेला ‘ब्लड मनी’ तिर्नुपर्छ । त्यसपछि मात्रै त्यो व्यक्ति जेलमुक्त हुन्छ । तर, यो केसका विषयमा थप बुझ्नुपर्ने उनले बताए । विभागले यस विषय के कस्तो भएको भन्ने विषयमा कतारस्थित नेपाली दूतावासलाई पत्र लेखेको छ । पत्रको जवाफ आएपछि थप प्रतिक्रिया दिने र आवश्यक प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

कतारस्थित नेपाली दूतावासले कमल नेपाल भाग्न नसक्ने दाबी गर्दै आएको छ । यो केसमा सुरूदेखि नै सहजीकरण गर्दै आएको वैदेशिक रोजगार उद्धार केन्द्र (रेस्क्यु नेपाल) का अध्यक्ष इन्द्रलाल गोलेले कतारस्थित नेपाली दूतावासले कमल नेपाल जान नसक्ने दाबी गर्दै आएको बताए । तर, उनी नेपाल आएको एक वर्ष भन्दा बढी हुन लागिसक्यो ।

‘ब्लड मनी’ लिएर माफी दिन तयार रहेको अवस्थामा मार्ने मान्छे नै नेपाल आइसकेपछि आफूहरू झन् पीडामा परेको मृतकका छोरा राजनले बताए । ‘मर्ने र मार्ने दुवै नेपाली नै हुन् । हाम्रो बुबा त मरिसक्नुभयो । अब अर्को नेपालीको पनि ज्यान लिएर के हुन्छ ? त्यसैले हामी ब्लड मनी लिएर माफी दिन तयार भएका थियौं । तर, अहिलेसम्म एक पैसा पनि पाएका छैनौं,’ राजनले भने ।

परिवारको विचल्ली

शिवरतन ६ सदस्यीय परिवारको एक्लो खम्बा थिए । आर्थिक अवस्था निकै कमजोर रहेको परिवारको गर्जो उनले विदेशबाटै पठाएको पैसाले टर्थ्यो ।

राजन पनि कमाउन सक्ने अवस्थामा छन् । तर, यही मुद्दाले गर्दा उनी कहीँ कतै काम गर्न जान सक्ने अवस्थामा छैनन् । ‘चार वर्षदेखि यसकै पछि लागिरहेको छु । घरको आर्थिक अवस्था निकै दयनीय छ । कतै विदेशतिर जाउँ भने पनि जान सक्ने अवस्था छैन,’ राजनले परिवारको अवस्थाबारे रातोपाटीलाई भने ।उनको घरमा आमा, दुई बहिनी र दुई भाइ छन् । तर, आम्दानीको श्रोत केही छैन । यो विषय सल्टिए उनी विदेश जाने सोचमा छन् ।

यस्तो मुद्दामा अब के हुन्छ ?

यसरी ‘ब्लड मनी’ नतिरी नेपाल फर्किएको यो पहिलो घटना हो । यस्तो अवस्थामा के हुन्छ ? भन्ने यकिन जवाफ कसैसँग पनि छैन । यसमा दुई किसिमले अगाडि बढ्न सकिने कन्सुलर विभागका अधिकारीहरू बताउँछन् ।

विभागले कतारस्थित नेपाली दूतावासलाई पत्र लेखेर घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिनेछ । त्यसपछि के गर्न सकिन्छ भन्ने विषयमा अगाडि बढ्ने विभागका निर्देशक अधिकारीको भनाइ छ ।

अर्को भने पीडित परिवारको तर्फबाट प्रहरी प्रशासन र वैदेशिक रोजगार विभागमा उजुरी गर्ने । उजुरीको आधारमा प्रहरीले कमलको खोजी गरेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन सकिने निर्देशक अधिकारीले बताए ।

‘पहिलो केस भएकाले ठ्याक्कै यही हुन्छ त भन्न सकिने अवस्था छैन । तर, आवश्यक प्रक्रिया अगाडि बढाउँदै के–के हुन्छ, त्यही गर्दै पीडितलाई न्याय दिलाउँछौं,’ अधिकारीले भने ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मङ्गलवार