चीनद्वारा ताइवानमा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति



चीनद्वारा ताइवानमा क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण लगत्तै व्यापक सैन्य अभ्यास सुरू गरेको चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार गरेको छ।चीनले प्रहार गरेका पाँच वटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।

ताइवानले भने आफ्नो भूमि वरपर चीनले हालसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको दाबी गरेको छ।रोएटर्सका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्।चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।

स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरू भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ।

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्। यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले जनाएको छ।चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ। यता, ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ।

यसैबीच ताइवानको विषयमा जी सेभेन देशहरूको समूहलाई जवाफ दिँदै चीनले यो समूहले विश्वव्यापी समुदायको प्रतिनिधित्व नगर्ने दाबी गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा शुनयाङले सामाजिक सञ्जालमार्फत जी सेभेनले विश्व समुदायको प्रतिनिधित्व नगर्ने भन्दै तिनीहरूको विचारले संसारको एउटा सानो अंश मात्र प्रतिनिधित्व गर्ने बताएकी छन्।जी सेभेनलाई ‘तानाशाह’ को संज्ञा दिँदै उनले अगाडि भनेकी छन्- सिंगापुरका विद्वान किशोर महबुबानीले ठीकै लेखेका हुन्, जी सेभेन… विश्वव्यापी रूपमा तानाशाही छ।’

यसअघि जी सेभेनका विदेश मन्त्रीहरूले एक संयुक्त वक्तव्य जारी गर्दै चीनको प्रतिक्रियाले तनाव बढाउने र यो क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताएका थिए।

ताइवानमाथि आफ्नो दाबीलाई झनै बलियो बनाउन चीनले सैन्य गतिविधि बढाएको कतिपयको आशंका छ। हालसालै मात्रै ताइवान स्ट्रेटलाई अन्तर्राष्ट्रिय जलमार्ग मान्न नसकिने घोषणा चीनले गरेको थियो।

त्यसबाहेक चीनले ताइवानबाट कृषिजन्य सामाग्री आयात रोकेको छ। चीनका विदेश मन्त्री वाङ् यीले राष्ट्रपति सी चिनफिङले भन्ने गरेको चेतावनी दोहोर्‍याएका छन्- ‘आगोसँग खेल्नेहरू खरानी हुने छन् र चीनको अपमान गर्नेले निश्चय नै सजाय पाउने छन्।’

चीनको कडा चेतावनीका बाबजुद् ताइवानकी राष्ट्रपति चाइ इङ वेनले पेलोसीको न्यानो स्वागत गरिन्। स्वागत मन्तव्यमा उनले भनेकी छिन्, ‘ताइवानलाई डराउन नियोजित रूपमा बढाइएका सैन्य गतिविधिले हामी विचलित भएका छैनौं। राष्ट्रको सार्वभौमिकता र प्रजातन्त्रको रक्षाका निम्ति हामी दृढतापूर्वक उभिनेछौं।’

ताइवानकी राष्ट्रपतिसँग पेलोसीले ताइवानको प्रजातन्त्र रक्षाका निम्ति अमेरिकी ऐक्यवद्धता रहने बताइन्।

‘संसार नै निरंकुशता वा प्रजातन्त्रको छनौटको सामना गरिररहेको छ। ताइवानमा र संसारभर प्रजातन्त्रको रक्षाका निम्ति अमेरिका कवजको रूपमा उभिनेछ,’ उनले भनेकी छन्।

पेलोसीले ताइवानसँग सम्भावित आर्थिक कारोबारको विषयमा पनि छलफल गरेकी छिन्। ताइवानकी राष्ट्रपतिले पेलोसीलाई विशेष सम्मान अपर्ण गरिन्।

ताइपेईको १ सय १ तल्लाको भवनमा प्रकाशको माध्यमबाट धन्यवाद अमेरिका, प्रजातन्त्र र ताइवानको साथी अमेरिका सहितका शब्द लेखिएका थिए।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार