जनार्दनको दोष थिएन, खाएको विष पो लाग्छ नखाएको लाग्दैन : प्रचण्ड



जनार्दनको दोष थिएन, खाएको विष पो लाग्छ नखाएको लाग्दैन : प्रचण्ड

चुनावअघि समाजवादी केन्द्र बन्दैन, आगामी चुनावपछि सम्म यही गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले निर्दोष सावित गरेको बताए ।

उनले ओली सरकारले एसपीपी सम्झौता गरेको कुरा पेरिस डाँडाबाट आफूले पहिलो पटक सार्वजनिक गरेको र तत्काल सम्झौता तोड्न बालुवाटारमा गएर प्रधानमन्त्रीलाई भनेको उल्लेख गरे । माओवादी केन्द्रकै पहलमा आज नै एसपीपी सम्झौतामा नेपाल सहभागी हुँदैन भन्ने चिठी अमेरिका पठाएको प्रचण्डले बताए ।

एसपीपी सम्झौता गरेको खुलासा गरेपछि केही मान्छेहरूको टाउको दुखेको र उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भनेर अनेक लफडा झिकेको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले भने– ‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नी भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ । समितिले आवश्यक पर्ने समय पनि लियो । ७ दिन समय पनि थपियो,

आज समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष सावित हुनुभएको छ, केही प्रमाण छैन्, निर्दोष रहेको प्रमाणित भयो । अर्थमन्त्री र अर्थमन्त्रालयको कुनै गल्ती भएको छैन् भन्ने छानविन समितिको रिपोर्ट आएको छ ।’ प्रचण्डले यी विषयहरुलाई जनताको बीचमा लैजान आग्रह गरे ।

उनले संविधानको रक्षा, गणतन्त्रको रक्षा र देशको आवश्यकताले गठबन्धन बनाएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछिसम्म अहिलेको गठबन्धन कायम रहने बताए । यहि गठबन्धनबाट निर्वाचनमा जाने र शान्ति प्रक्रिया टुङ्ग्याउने उनको भनाई छ । अध्यक्ष प्रचण्डले चुनावअघि तत्काल समाजवादी केन्द्र नबन्ने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार