
दार्चुला, २२ चैत । भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि ज्यान जोखिममा राखेर महाकाली पार गर्न थालेका छन् । सोमबारदेखि शुक्रबारसम्म पौडेर र ट्युबको सहारामा ७० जना महाकाली तरेर स्वदेश प्रवेश गरिसकेका छन् ।
पौडेर र ट्युबको सहारामा ७० जना महाकाली तरेर स्वदेश प्रवेश गरिसके
रोजगारी खोज्दै भारतका विभिन्न ठाउँमा ज्याला मजदुरी गर्दै आइरहेका सयौं नेपाली सीमापारि धार्चुला आसपासमा बिचल्लीमा छन्। कोभिड–१९ को सम्भावित संक्रमणका कारण जिल्लाको प्रमुख नाका सदरमुकामको झोलुंगे पुल भएर प्रवेश निषेध गरिएको छ। जसका कारण अलपत्र परेकामध्ये कही महाकालीको भेलमा पौडेर स्वदेश फर्किरहेका हुन्। नदीमा पौडिएर घर आउनु बाध्यता भएको उनीहरूको भनाइ छ।
ब्यास गाउँपालिका ३ का भूपेन्द्रसिंह धामीले भारतमा भन्दा आफ्नै देशको क्वारेन्टाइनमा बस्न महाकाली तरेर आएको बताए। ‘भारतमा नेपालीलाई शिविर भेडाको बथानलाई जस्तै एकै ठाउँमा राखिएको छ। एक पटक खाना पाइन्छ। धेरै चाहिनेको पेट भरिँदैन,’ उनले भने, ‘भारतमा दुःख काट्नुभन्दा स्वदेशमै गएर १४ दिन क्वारेन्टाइनमा बस्नु राम्रो ठानेर महाकाली तरेर आएँ।’