रवि लामिछानेको प्रतिबद्धता : शिक्षकलाई सबैभन्दा धेरै तलब



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने बताउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताए । पाठ्यपुस्तक र विद्यालयको कक्षा कोठा अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उल्लेख गरे ।

प्राविधिक, नैतिक, ज्ञानमूलक, रोजगारमुखी र देशै भरी एउटै मापदण्डका शिक्षा प्रणालीको व्यवस्था गर्ने बताए । योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने उनले बताए । उनले भने–‘यो देशमा सबैभन्दा धेरै तलब कसैको हुनेछ भने शिक्षकको हुनेछ । राष्ट्रको सबैभन्दा लगानी केहीमा गरिने छ भने त्यो शिक्षामा लगानी गरिनेछ ।’

यस्तै अपराध अनुसन्धान छिटो गर्नका लागि प्रत्येक प्रहरी चौकीमा भिडियो रेकर्ड गरेर उजुरी लिने व्यवस्था गर्ने बताए । प्रहरी अधिकारीले कुनै राजनीतिक नेता वा व्यापारीलाई भेटेमा स्पष्टीकरण सोधिने बताए ।

अपराध अनुसन्धान गरेको आधारमा प्रहरीको मूल्याङ्कन र प्रोत्साहन गरिने, मोबाइलबाटै ठाउँको ठाउँ घटनाको उजुरी दर्ता गर्ने व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ ।

सरकारी कार्यालयमा लामो लाइन बस्नु नपर्ने व्यवस्था गर्ने, बिचौलियाबाट सरकारी कार्यालयलाई मुक्त बनाउने, काममा ढिलासुस्ती गरेको उजुरी आएमा ठाउँको ठाउँ कर्मचारीलाई कारबाही गर्ने बताए ।

सरकारी कार्यालय एकद्वार प्रणाली, अनलाइन प्रणाली, क्यासलेस प्रणाली तथा होम डेलिभरी प्रणालीमा लैजाने प्रतिबद्धता जनाए । यस्तै घरमा छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने र १८ वर्षको उमेरसम्म निश्चित रकम राखिदिने उनको भनाई छ । पार्टी दर्तापछि लामिछानेले चितवनमा पार्टीको पहिलो भेला गरेका हुन् ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार