टिका भैरव–छम्पी सडक तत्काल ग्राभेल गर्न माग राख्दै गाेदावरीका मेयरलाई खुल्लापत्र



ललितपुर । गोदावरी नगरपालिकाको वडा नं.६ र ९ मा पर्ने मुख्य सडक ग्राभेल गर्न माग गर्दै एक स्थानीयले गाेदावरीका मेयरलाई खुल्ला पत्र लेखेका छन् । टिका भैरव बजार र टिका भैरव छम्पी सडक तत्काल ग्राभेलको माग राख्दै स्थानीयले मेयरलाई पत्र लेखेका हुन् ।

हिउँदमा छारो र वर्षा लागेसँगै हिलाम्मे सडकमा यात्रुहरुले सास्ती भोग्नु परेको कारण आफु खुल्ला पत्र लेख्न बाध्य भएको स्थानीय मनोज सापकोटाले बताए । पटकपटक पालिका र जनप्रतिनिधिको ध्यानाकर्षण गराउँदा पनि काम नभएपछि पत्र लेखिएको उनको भनाई छ ।

यस्तो छ पत्र

श्रीमान् मेयर ज्यू
गोदावरी नगरपालिका

विषय:- जानकारी गराईएको बारे।

उपरोक्त विषयको बारेमा यस गोदावरी नगरपालिका वडा नं ६ र ९ मा पर्ने सम्पूर्ण कच्ची सडकहरु ग्राभेल नभए सम्म यस क्षेत्र हुँदै गुड्ने मालबाहक गाडीहरु (ट्रक,ट्रीपर,आदि) आउदो २०७९ असार २५ गते उप्रान्त यस टिकाभैरब बजारको सडकबाट गुड्न प्रतिबन्ध लगाईने छ ।
अल्पकालिन माग
१)टिकाभैरब बजार र टिकाभैरब-छम्पी सडक खण्डमा पर्ने सम्पूर्ण कच्ची सडकलाई तत्काल ग्राभेल गर्नु पर्ने ।

यसो गर्नको लागि नगरपालिका कार्यालय वा स्वयम मेयर ज्यू ले सम्पूर्ण क्रसर व्यवसायीहरु सङ्ग आवश्यक सल्लाह/समन्वय गरि ग्राभेल र क्रसर धुलोको व्यवस्था गर्न आदेश दिने अथवा नगरपालका ले आफैँले व्यवस्था गरिदिने।
आउने २०७९ असार २५ गते भित्र अल्पकालिन माग पूरा नभएको खण्डमा सो दिन देखि ट्रीपर गुड्न बन्द गरिनेछ ।

दीर्घकालीन माग ।
कुनै पनि व्यवसाय बन्द गरियोस् भन्ने धारणा नरहेको तर मालबाहक गाडी र साधारण सवरी साधन एउटै सडकमा सवार हुँदा अन्य साधारण सवारीलाई अत्यन्तै मर्का पर्ने सम्पूर्णमा अवगत नै छ । त्यसका साथै रातीको समयमा समेत ध्वनी प्रदुषण हुने हुदा मालबाहक गाडीको लागि नगरपालिकाले केन्द्रीय सरकारसङ्गको समन्वयमा या स्वयम् नगर बजेट बाटै कोरिडोर बाटो निर्माण गर्नु पर्ने ।

यसका लागि नगरपालिकाले बाटो निर्माण पश्चात् प्रत्येक मालबाहक सवारीसङ्ग सडक दस्तुर संकलन गर्न सक्छ , अन्य स्रोतको आवस्यकता नपर्ने देखिन्छ।
वोधार्थ :-
छम्पी वडा कार्यालय
गोदावरी नगरपालिका, ६ नं. वडा कार्यालय, टिकाभैरव ललितपुर
प्रहरी चौकी टिकाभैरब

धन्यवाद
मनोज सापकोटा
स्थानीय
गोदावरी नगरपालिका -९

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार