
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा आवश्यक कृषि मेशिनरी यहीँ नै उत्पादन गर्नुपर्ने बताएका छन् । आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कृषि मेशिनरी उद्योग खोल्न आग्रह गर्दै अर्थमन्त्री शर्माले आवश्यक कच्चा पदार्थहरूमा पर्याप्त भन्सार छुट दिइने बताए । उनले भने, ‘अब त कोदालाका बिँड पनि बाहिरबाट आउन थाल्यो । त्यो चाहिँ अब हुँदैन । बिँड बनाउनुस्, बाहिरबाट आउनुभएन । कुटा यही बनाऔँ, बाहिरबाट आउनुभएन । कोदाला यही बनाऔँ, बाहिरबाट आउनुभएन । हामी सबै बाहिरबाट ल्याउँछौँ भन्ने माग गर्नुभयो भने हाम्रो कुरा मिल्दैन । हामी बनाउँछौँ भन्नुस् । उद्योगहरु सञ्चालन गरौँ । कच्चा पदार्थमा तपाईँहरूलाई पर्याप्त छुट हुन्छ । भन्सार लाग्दैन ।’
अर्थमन्त्री शर्माले कृषिमा उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति, प्रविधिहरूको हस्तान्तरण र सिँचाइको व्यवस्था लगायतका कामलाई एकीकृत गरी लैजानु आवश्यक रहेको उल्लेख गरे ।
यसैबीच मन्त्री शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै कृषि क्षेत्रलाई सम्मान र माया गर्न पनि आग्रह गरेका छन् ।